close

फेक कपीराइट स्ट्राइकका कारण ५७ मिलियन फलोअर भएका भारतीय इन्फ्लुयन्सरले गुमाए ८० लाख रुपैयाँ

टेकपाना टेकपाना

कात्तिक ७, २०८२ ११:३५

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । भारतको मध्य प्रदेशको जबलपुरका एक लोकप्रिय इन्स्टाग्राम कन्टेेन्ट क्रियटर डिजिटल फिरौती (digital extortion) को शिकार भएका छन् । यो जबलपुर सहरमा रिपोर्ट गरिएको यस प्रकारको पहिलो साइबर अपराध हो ।

२८ वर्षीय सामाजिक सञ्जाल इन्फ्लुयन्सर तथा उद्यमी अजिम अहमदले साइबर ठगीमा परेर ५० लाख भारु गुमाएका छन् । अहमद एक सफ्टवेयर इन्जिनियरबाट डिजिटल उद्यमी बनेका हुन् ।

उनको ठुलो अनलाइन उपस्थिति छ । उनीसँग ९६ वटा इन्स्टाग्राम पेजहरूमा ५ करोड ७० लाखभन्दा बढी फलोअर्स छन् । सन् २०१७ मा उनले आफ्नो पहिलो इन्स्टाग्राम पेज बनाएका थिए, जसले सन् २०२१ को कोभिड लकडाउनको समयमा तीव्र सफलता हासिल गर्‍यो ।

सफलताबाट उत्साहित भएका उनले पछि साथीहरूसँग मिलेर हुप्पी डिजिटल नामक डिजिटल मार्केटिङ स्टार्टअपको सह-स्थापना पनि गरे । अहमदको यो सफलताले अब उनलाई रातभर जागा बस्नुपर्ने अवस्थामा पुर्‍याएको छ ।

अहमदले बताएअनुसार उनलाई लगभग एक वर्षदेखि नक्कली प्रतिलिपि अधिकार स्ट्राइक (fake copyright strikes) र धम्कीहरू आइरहेका थिए । ठगी गर्नेहरूले उनका पोस्टहरूलाई आफ्ना सामग्री भएको दाबी गर्थे र पैसा नतिरेमा उनका अकाउन्टहरू डिलिट गरिदिने धम्की दिएका थिए ।

आफ्नो मुख्य आयस्रोत रहेको पेज गुमाउने डरले अहमदले फिरौती माग्नेहरूलाई बारम्बार पैसा तिरे । समयसँगै यस्तो भुक्तानी कुल ५० लाख भारतीय रुपैयाँ (८० लाख रुपैयाँ) पुग्यो । धम्कीहरू अनलाइन मेसेजबाट सुरु भएर पछि फोन कल र इन्स्टाग्रामको कन्टेन्ट मध्यस्थता प्रणालीको नक्कल गर्ने नक्कली ईमेलहरू मार्फत बढाइएका थिए ।

अहमदका अनुसार ठगी गर्नेहरूले आफूलाई 'मध्यस्थकर्ता' (mediators) भन्थे । पुणेबाट फोन गर्ने एक व्यक्तिले नक्कली स्ट्राइकहरू हटाउनका लागि २५ हजारदेखि ३० हजार भारुसम्म मागेका थिए ।

अजिम अहमदले जबलपुर साइबर सेलमा उजुरी दिएका छन् । यद्यपि, ठगी गर्नेहरू हालसम्म पत्ता लागेका छैनन् र फरार छन् ।

जबलपुर साइबर सेलका इन्चार्ज निरज नेगीले यो यस किसिमको पहिलो घटना भएको पुष्टि गरे । जसमा ठगी गर्नेहरूले नक्कली कन्टेन्ट स्ट्राइकको धम्की दिएर पैसा असुल्ने गरेका गर्छन् । नेगीले यसलाई नयाँ युगको साइबर अपराधको प्रवृत्ति भनेर उल्लेख गरेका छन् ।

इन्चार्ज नेगीले थप स्पष्ट पारेअनुसार ठगी गर्नेहरूले इन्स्टाग्रामको स्वचालित सामग्री प्रणाली (automated content systems) को दुरुपयोग गरिरहेका छन् । कुनै प्रयोगकर्ताले धेरै नक्कली स्ट्राइक प्राप्त गरेमा अकाउन्ट नै निलम्बन हुने जोखिम हुन्छ ।

साइबर सेलले हाल यी नक्कली प्रतिबन्धहरू कसरी ट्रिगर भइरहेका छन् र फिरौती र्‍याकेटको पछाडि को छन् भन्ने पत्ता लगाउनका लागि इन्स्टाग्रामको आन्तरिक टोलीसँग सम्पर्क गरिरहेको छ ।

-विभिन्न भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा

पछिल्लो अध्यावधिक: कात्तिक ७, २०८२ ११:३५