संसद भवन जल्दा अश्लील शब्दसहित भिडिओ बनाएका निर्देशक अमनप्रताप अधिकारीको आलोचना
कात्तिक ८, २०८२ १३:२३
काठमाडौँ । गत भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवनमा भएको हिंसात्मक प्रदर्शन र आगजनीको घटनामा पूर्व फुटबल खेलाडी, कमेन्टेटर एवं विभिन्न रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीले सामाजिक सञ्जालमा गरेको प्रस्तुतिलाई लिएर चौतर्फी आलोचना भएको छ ।
विध्वंसात्मक गतिविधि भइरहँदा अधिकारीले भिडिओ कैद गर्दै तत्कालीन सरकारकाविरुद्ध आक्रोश पोखेका थिए । उक्त भिडिओ उनले फेसबुकमा राखेका छन् । भिडिओमा उनले पृष्ठभूमिमा जलिरहेको संसद भवन देखाउँदै उत्तेजक र अश्लील शब्दहरू प्रयोग गरेर खुसीयाली मनाएको देखिन्छ ।
भिडिओमा अधिकारीले ‘देखिस्, जल्यो तेरो देश’ भन्दै राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । भिडिओको क्याप्सनमा ‘This is how parliament was taken down’ लेखेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो प्रस्तुतिलाई लिएर आलोचना हुन थालेपछि अधिकारीले शनिबार फेसबुकमा लेखेका छन्, “न्यायको प्रतीक्षामा सहिदका परिवार छन्, घाइतेहरु अझै अस्पतालमा छट्पटाइरहेका छन् । चाकरी छोडौँ, हत्यारा समाउँ !”
विभिन्न चर्चित रियालिटी शोका निर्देशक, प्रस्तोता रहेका उनी प्रख्यात गीतकार/कवि स्व. क्षेत्रप्रताप अधिकारीका छोरा हुन् । उनी साहित्यिक रियालिटी शो ‘द पोयट आइडल’का परिकल्पनाकार र निर्देशक पनि हुन् । यस्तो पृष्ठभूमिका व्यक्तिबाट प्रस्तुत भएको व्यवहार अनपेक्षित रहेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।
केहीले सार्वजनिक व्यक्तित्वबाट अश्लील र असंयमित व्यवहार आउनु दु:खद रहेको मत राखेका छन् भने केहीले तत्कालीन समयमा पोखिएको आक्रोशलाई सामान्य लिनुपर्ने र आन्दोलनलाई विषयान्तर गर्न नहुने तर्क गरेका छन् ।
पछिल्लो समय जेनजी आन्दोलनका फोटो/भिडिओलाई लिएर कलाकारहरू पनि विवादमा मुछिन थालेका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८२ १४:३३
