close

​चिनियाँ वैज्ञानिकले विकास गरे भूतजस्तो रोबोट, अदृश्य रूपमा समुन्द्र मुनिको निगरानी गर्न सक्ने

टेकपाना टेकपाना

कात्तिक ९, २०८२ १७:४८

​चिनियाँ वैज्ञानिकले विकास गरे भूतजस्तो रोबोट, अदृश्य रूपमा समुन्द्र मुनिको निगरानी गर्न सक्ने

काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले भूतजस्तो (ghostlike) जेलिफिश रोबोटको विकास सफलतापूर्वक सम्पन्न गरेका छन् । यो रोबोटले पानी मुनिका अभियानहरू गोप्य रूपमा सञ्चालन गर्न सक्नेछ ।

नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीको मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङ स्कुलका ताओ काईद्वारा विकसित यस बायोनिक जेलिफिश रोबोटलाई ‘पानी मुनिको प्रेत’ (underwater phantom) को रूपमा वर्णन गरिएको छ ।

विश्वविद्यालयका अनुसार यो रोबोट पानी मुनि डुबेको बेला वास्तविक जेलिफिसबाट लगभग छुट्याउनै नसकिने हुन्छ । जसले जलीय वातावरणमा इन्टेलिजेन्ट डिटेक्सन र रियलटाइम सर्भिलेन्स (प्रत्यक्ष निगरानी) लाई सम्भव बनाउँछ ।

अदृश्य डिजाइन

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो रोबोटले जेलिफिशको चाल र शैली नक्कल गर्छ । यसमा पारदर्शी छाता-जस्तो शरीर र टेन्टाकल्स समावेश छन् । यो पारदर्शी स्वरूप हाइड्रोजेल इलेक्ट्रोड सामग्रीबाट बनेको छ, जसलाई अनुसन्धान टोलीले नै विकसित गरेको हो ।

आकारमा यो उपकरण सानो छ । जसको व्यास १२० मिलिमिटर (४.७ इन्च) छ र यसको तौल केवल ५६ ग्राम छ ।

ताओले साइन्स एन्ड टेक्नोलोजी डेलीलाई यसको कम पावर खपत, लगभग मौन स्तरको सञ्चालन (near-silent operation) र जीवन्त डिजाइनका कारण रोबोट गहिरो समुद्रको गोप्य निगरानी, नाजुक पारिस्थितिक प्रणालीको अवलोकन र पानी मुनिका संरचनाहरूको सटीक निरीक्षणको लागि मौलिक रूपमा उपयुक्त छ ।

बायोनिक प्रविधि र एआई

यो बायोनिक रोबोटले जेलिफिशको मांसपेशी सङ्कुचन र रिफ्लेक्सको नक्कल गर्न सक्छ । यो इलेक्ट्रोस्टेटिक हाइड्रोलिक एक्टुयेटर प्रयोग गरेर पानी मुनि सर्छ । जसले जेलिफिशमा मांसपेशी सङ्कुचन र विश्राम नियन्त्रण गर्ने न्युरल सङ्केतहरूको नक्कल गर्छ ।

रोबोट २८.५ मिलिवाटमा मात्र सञ्चालन हुन्छ र यसले लगभग कुनै पनि शारीरिक वा ध्वनिक गडबडी उत्पन्न गर्दैन । यसले गर्दा दीर्घकालीन रूपमा पानीमुनिका गुप्त अभियानहरू सम्भव हुन्छन् ।

निगरानी सम्बन्धी कार्यका लागि यो रोबोट सानो क्यामेरा मोड्युल र एक इम्बेडेड एआई प्रशोधन चिपबाट सुसज्जित छ । यसले मसिन लर्निङको माध्यमबाट पानी मुनिका विशिष्ट लक्ष्यहरूलाई सही रूपमा पहिचान गर्न सक्छ ।

सफलता

अगस्टमा चीनको सरकारी टेलिभिजन संस्था सीसीटिभीमा यो बायोनिक जेलिफिशलाई अन्य बायोनिक रोबोटहरू (जस्तै: रोबोटिक चरा, मेकानिकल सलह, गेक्को रोबोट र रोबोटिक माछा) सँगै प्रस्तुत गरिएको थियो ।

त्यस क्रममा ताओले यसको इन्टेलिजेन्ट क्षमता देखाएका थिए । यसले गतिशील पानीमा पनि स्थिर रूपमा होभर गरेको र विद्यालयको प्रतीक तथा क्लाउनफिश जस्ता विशिष्ट वस्तुहरूलाई सही रूपमा पहिचान गर्न सकेको थियो । यो प्रदर्शनले प्रकृतिबाट प्रेरित रोबोटले आफ्नो वातावरणलाई स्वतन्त्र रूपमा बुझ्न र लक्ष्यहरू पहिचान गर्न सक्ने प्रमाणित गरेको थियो ।

टोलीका एक सदस्यले यो रोबोटिक जेलिफिशलाई पानी मुनिका माछाको गणना र ट्र्याकिङ गर्न प्रयोग गर्न सकिने बताएका छन् । जसबाट माछाहरूलाई कुनै बाधा पुग्ने छैन । यो रोबोटलाई गहिरो समुद्र अन्वेषणमा ऊर्जा 'सहनशीलता', गोप्यता र वातावरणीय अनुकूलता जस्ता मुख्य चुनौतीहरूको लागि एक नवप्रवर्तनकारी समाधानको रूपमा प्रशंसा गरिएको छ ।

नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीको हवाईजहाज र रोबोटिक्सको अनुसन्धानमा बलियो पृष्ठभूमि छ । ताओज ल्याब शिक्षा मन्त्रालय अन्तर्गतको एयरोस्पेसका लागि माइक्रो र नानो सिस्टमको मुख्य प्रयोगशाला हो । जुन माइक्रो इलेक्ट्रोमेकानिकल प्रणालीका लागि समर्पित चीनको सबैभन्दा प्रारम्भिक अनुसन्धान एकाइहरूमध्येमा गनिन्छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १७:४८