काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले टेक्स्ट (लिखित) र अडियो प्रम्प्टको आधारमा म्युजिक सिर्जना गर्न सक्ने एउटा नयाँ टुलमा काम गरिरहेको खबर बाहिर आएको छ । द इन्फर्मेसनमा प्रकाशित एक रिपोर्ट अनुसार ओपनएआई यो नयाँ टुलको विकासमा जुटेको हो ।
यस्तो टुलको प्रयोग विद्यमान भिडिओहरूमा सङ्गीत भर्न वा विद्यमान भोकल ट्र्याकमा गिटारको साथ दिन प्रयोग गर्न सकिनेछ । यद्यपि, यो टुल कहिले सार्वजनिक हुँदैछ भन्ने विषयमा स्पष्ट भइसकेको छैन ।
साथै यो टुल एक छुट्टै प्रोडक्टको रूपमा उपलब्ध हुनेछ वा ओपनएआईको च्याटजीपीटी तथा भिडिओ एप सोरामा एकीकृत भएर आउनेछ भन्ने विषयमा पनि कुनै स्पष्टता छैन ।
ओपनएआईले प्रोडक्ट विकासका लागि तालिमको डेटा उपलब्ध गराउन जुइलियर्ड स्कुलका केही विद्यार्थीहरूसँग काम गरिरहेको छ । द इन्फर्मेसनले स्रोतलाई उद्धृत गर्दै लेखे अनुसार उनीहरूले स्कोरहरूमा टिप्पणी (annotate scores) गर्ने तरिका प्रयोग गरेर तालिम डेटा प्रदान गरिरहेका छन् ।
ओपनएआईले विगतमा पनि जेनरेटिभ म्युजिक मोडेलहरू सार्वजनिक गरेको थियो । तर ती च्याटजीपीटी सार्वजनिक हुनुभन्दा अघिका थिए । हालसालै भने कम्पनीले टेक्स्ट-टु-स्पिच (लिखित सामग्रीलाई आवाजमा उतार्ने) र स्पिच-टु-टेक्स्ट (बोलेको कुरालाई लिखित सामग्रीमा उतार्ने) मा केन्द्रित अडियो मोडेलहरू विकास गरिरहेको थियो ।
हाल गुगल र सुनो (Suno) जस्ता कम्पनीहरूसँग जेनरेटिभ म्युजिक मोडेल रहेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८२ ११:३८
