close

अनलाइन ठगीको रकम फिर्ता गराइदिने बहानामा प्रहरीकै फोटो राखेर नेपालीलाई ठग्दै गिरोह

टेकपाना टेकपाना

कात्तिक ११, २०८२ १८:५

अनलाइन ठगीको रकम फिर्ता गराइदिने बहानामा प्रहरीकै फोटो राखेर नेपालीलाई ठग्दै गिरोह

काठमाडौँ । अनलाइन ठगीका घटनाबाट पीडित बनेका व्यक्तिलाई लक्षित गर्दै एक गिरोहले प्रहरीको झुटो परिचय दिएर पुनः ठगी गर्ने गरेको पाइएको छ । सामाजिक सञ्जालमा प्रहरी अधिकारी र पूर्वप्रहरी प्रमुखको फोटो प्रयोग गर्दै यो गिरोहले ठगीमा परेको रकम फिर्ता गराइदिने बहानामा ‘सरकारी शुल्क’ भन्दै पैसा असुलिरहेको हो ।

हालैको जेन-जी आन्दोलनका क्रममा केही प्रहरी कार्यालयमा क्षति पुगेपछिको विषम परिस्थितिमा प्रहरीले विस्तारै उजुरी लिइरहेको अवस्था छ । यसैको फाइदा उठाउँदै स्क्यामर व्यापक रूपमा मौलाएका छन् ।

नेपालमा पछिल्लो समय सामाजिक सञ्जालबाट राम्रो आम्दानी हुने आश्वासन देखाएर लगानी गर्न उक्साउने, चिठ्ठा ठगी, अनलाइन किनमेल ठगी, सामाजिक सञ्जाल ह्याकिङ, डिजिटल वालेट तथा बैंकिङ ठगी र नक्कली सिममार्फत खाता खाली गर्ने जस्ता घटनाहरू व्यापक रूपमा बढेका छन् । यसरी ठगीमा पर्नेहरूलाई निशाना बनाएर अर्को ठगी गर्ने गिरोह सक्रिय देखिएको हो ।

यो गिरोहले फेसबुकमा ‘सीबीआई डिपार्टमेन्ट हेल्प’ नामक पेज बनाएर ठगीको जालो फैलाएको छ । यो पेजको प्रोफाइल फोटोमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको फोटो राखिएको छ । प्रचारका लागि प्रयोग गरिएको भिडिओ सामग्रीमा प्रहरी अधिकारीहरू छलफल गरिरहेको तस्बिर प्रयोग गरिएको छ ।

उक्त पेजबाट पोस्ट भएको भिडिओमा प्रहरी अधिकारीको भेषमा एक व्यक्ति हिन्दी भाषामा बोलेको देखाइएको छ । उनको भनाइको सार यस्तो छ, “नमस्ते, म पुलिस डिपार्टमेन्टको अफिसर बोलिरहेको छु । यदि तपाईंको विदेशबाट सामान आएको छ, कोही साथी एयरपोर्टमा रोकिएका छन्, बैंकमा पैसा आएको छ वा भिसाको समस्या छ र कोही व्यक्ति तपाईंलाई कुरियरको, एयरपोर्टको अनुमति पत्रको वा बैंक म्यानेजर भन्दै पैसा मागिरहेका छन् भने, मेरो प्यारी बहिनीहरू, कसैलाई पनि एक पैसा नदिनुहोला । तपाईंहरूले हामीलाई सम्पर्क गर्नुहोस् । हामी तपाईंलाई सहयोग गर्छौं । सामान तपाईंको ठाउँसम्म पुर्‍याउनु हाम्रो काम हो, तपाईंको सेवा गर्नु हाम्रो धर्म हो ।” यही भिडिओमा पनि ठगीमा परेका नेपालीले रकम पठाएको क्यूआर कोड पठाइरहेका छन् ।

यसरी भावनात्मक र सुरक्षाको आश्वासन दिएर गिरोहले सर्वसाधारणको विश्वास जित्न खोज्छ । पटक पटक ‘बेहेन’ सम्बोधन गरिएको छ । यसबाट उक्त स्क्यामरले ठगीमा परेका महिला पीडितलाई लक्षित गरेको देखिन्छ । 

हामीले उक्त फेसबुक पेजमा मेसेज पठाउँदा उनीहरूले तत्कालै प्रहरी वृत्त गौशालाको फोटो र एक प्रहरीको भिडिओ पठाए । त्यसपछि सम्पर्क नम्बर माग्ने र ह्वाट्सएपमार्फत सम्पर्क गर्न लगाउने काम भयो ।

ह्वाट्सएपमा सम्पर्क गरेपछि भ्वाइस कल आउँछ । कुन किसिमको ठगीमा परेको हो भनेर सोधेपछि हामीले स्क्यामरले प्रयोग गर्ने गरेको ‘जमजम इलेक्स्ट्रोनिक्स स्क्याम’ मा परेको बतायौं । त्यसपछि उनीहरूले केही समय न कल उठाए न मेसेजको रिप्लाई दिए । झन्डै १० मिनेटपछि उतैबाट कल आयो ।

“हजुरको सामानको भिडिओ खिच्दै थियौं, पठाएका छौं । भेरिफाई गर्नुहोला,” हिन्दीमै भनिएको थियो । उक्त ह्वाट्सएप अकाउन्टबाट आएको भिडिओमा ‘जमजम इलेक्ट्रोनिक्स’ लेखिएको बक्सबाट विदेशी रकम र आईफोन निकालेको देखियो । उनीहरूले पठाएको अर्को भिडिओमा नेपाली रकमको फिजाएको देखिएको थियो । यी भिडिओहरू वास्तवमा ती नै हुन्, जुन स्क्यामरले सामान्यतया सर्वसाधारणलाई भ्रममा पार्न ठगी गर्नुअघि पठाउने गर्छन् ।

पीडितले आफूलाई ठगी गर्ने बेलामा पठाएको सोही भिडिओ देखेपछि सामान प्रहरीसँग सुरक्षित रहेको र अब रकम फिर्ता हुन्छ भन्नेमा विश्वस्त हुन्छन् । नेपाल प्रहरीले हिन्दीमा किन बोल्छ ? तर, ठगीमा परेका पीडितले त्यतातर्फ सोच्दैनन् । जसरी हुन्छ स्क्याममा परेको रकम फिर्ता आओस् भन्ने मानसिकता उनीहरूको हुन्छ । यसैको फाइदा स्क्यामरले उठाउँछ ।

यसपछि भने रकम माग्ने खेल सुरु हुन्छ । थप कुरा गर्ने क्रममा उक्त स्क्यामरले आफूहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी भएको दाबी गर्छन् । सबै कुरामा विश्वस्त बनाइसकेपछि उनीहरूले ठगीमा परेको रकम फिर्ता गराउनका लागि ‘सरकारी शुल्क’ तिर्नुपर्ने बताउँछन् । कति रकम पठाउने भन्ने विषय सामानको मूल्यमा निर्भर हुन्छ ।

उनीहरूले तत्काल क्यूआर कोड पठाएर रकम तिर्न दबाब दिन्छन् । यदि कोही व्यक्ति क्यूआर कोडमार्फत पैसा नपठाई सिधै विमानस्थलमा पुग्ने बतायो भने उनीहरू सर्वोच्च अदालतबाट पत्र लिएर मात्र विमानस्थल आउन भन्छन् । लगत्तै, सर्वोच्च अदालत परिसरमा रहेको प्रहरी भ्यानको फोटो पठाएर उनीहरू आफू आधिकारिक प्रहरी कर्मचारी नै भएको प्रमाणित गर्न खोज्छन् । उक्त क्यूआर कोड नेपालीकै नामको बैंक अकाउन्ट हुन्छ । ‘प्रहरीलाई पठाउनु पर्ने रकम त सरकारी कार्यालयको खातामा जानुपर्ने, यो व्यक्तिगत अकाउन्टमा किन पठाउने’ भन्दा स्क्यामरले यो अकाउन्ट सिनियर अफिसरको भएको र रकम त्यतैबाट सरकारी खातामा जाने तर्क दिन्छन् ।

यसरी विश्वस्त बनाएर रकम पठाउन लगाउँछन् । एकपटक रकम पठाएपछि उनीहरूले विभिन्न नयाँ बहानामा रकम थप्दै लैजान्छन् । यदि रकम दिन इन्कार गरियो भने स्क्यामरहरू अश्लील गालीगलौज गर्दै धम्की दिन थाल्छन् ।

यो ठगी गिरोहले प्रायः पाकिस्तानी नम्बर प्रयोग गरेर फोन गर्ने गरेको पाइएको छ । सम्भवतः पाकिस्तानकै कुनै प्रयोगकर्ताको ह्वाट्सएप नम्बर लिएर वा खरिद गरेर त्यसैको आडमा ठगी गरेको देखिन्छ । यसमा प्रयोग भइरहेको बैंक अकाउन्ट प्रलोभनमा पारेर लिइएको हुन्छ । मासिक भाडा दिने वा एकमुस्ट रकम दिएर यस्तो बैंक अकाउन्ट स्क्यामरले अनलाइन ठगीमा प्रयोग गरेको देखिन्छ । उनीहरूकै संलग्नता भएकाले नेपालमा मौलाइरहेका हरेक किसिमका ठगीका घटनाबारे उनीहरू पूर्ण रूपमा अवगत छन् । यसले गर्दा पीडितलाई झनै सजिलै विश्वासमा पार्न उनीहरू सफल भइरहेका देखिन्छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ १८:१५