एनभिडियाले १ अर्ब अमेरिकी डलर लगानी गर्ने सम्झौतासँगै नोकियाको शेयर एक दशकयताकै उच्च विन्दुमा
कात्तिक १३, २०८२ १०:३४
काठमाडौँ । फिनल्यान्डको दूरसञ्चार उपकरण निर्माता नोकियाको शेयर लगभग एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । एनभिडियालाई आफ्नो २.९% शेयर १ अर्ब अमेरिकी डलरमा बेच्ने सम्झौताको घोषणा लगत्तै कम्पनीको शेयरमा उछाल आएको हो ।
एनभिडियाले नोकियासँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटा सेन्टरहरूमा केन्द्रित लगानी सम्झौता गरेको रोयटर्सले लेखेको छ । यो खबरपछि नोकियाको शेयर झन्डै २१% ले वृद्धि भएको हो । सम्झौता घोषणा भएपछि नोकियाको शेयर २०.८६% बढेर बन्द भएको थियो, जुन उच्च स्तरमा यसअघि सन् २०१६ जनवरीको अन्त्यमा पुगेको थियो ।
नोकियाले विभिन्न कम्पनीहरूसँग आर्टिफिसियल इन्टेलिजेन्स नेटवर्किङ समाधानहरूमा सहकार्य गर्ने बताएको छ । उनीहरूले एनभिडियाको भविष्यको एआई पूर्वाधार योजनाहरूमा नोकियाका डेटा सेन्टर सञ्चार उत्पादनहरू समावेश गर्न सकिने अवसरहरू पनि खोज्नेछन् ।
एनभिडियाले नोकियाका १६ करोड ६३ लाख ८९ हजार ३५१ नयाँ शेयर प्रतिशेयर ६.०१ अमेरिकी डलरमा लिनेछ । यो लगानी साझेदारीले एनभिडियालाई नोकियाको दोस्रो ठुलो शेयरधनी बनाउनेछ ।
एनभिडियासँग डेटा सेन्टरका लागि चिप्स आपूर्तिमा लगभग एकाधिकार रहेको छ । कम्पनीले ओपनएआईदेखि माइक्रोसफ्टसम्मका कम्पनीहरूसँग साझेदारी गरिरहेको छ ।
एनभिडियाका सीईओ जेन्सेन हुआङले यो सम्झौताले संयुक्त राज्य अमेरिकालाई आगामी सिक्सजी क्रान्तिको केन्द्र बनाउन मद्दत गर्ने बताए । हुआङले वाशिङटनमा नोकियाका सीईओ जस्टिन होटार्डलाई सम्बोधन गर्दै संयुक्त राज्य अमेरिकालाई दूरसञ्चार प्रविधि फिर्ता ल्याउन मद्दत गरेकोमा धन्यवाद भनेका थिए ।
नोकियाका सीईओ होटार्डलेले पहिले इन्टेलको डेटा सेन्टर र एआई समूहको नेतृत्व गरेका थिए । उनले यो सम्झौताको मुख्य कुरा भनेको एनभिडियाको एक्सिलेरेटेड कम्प्युटिङ स्ट्याक (जुन अमेरिकी प्रविधि हो) भएको र त्यसलाई मोबाइलका लागि विशेष रूपमा बनाइएको बताए ।
नोकियाका सीईओ होटार्डले यो नयाँ उपकरणले २०२७ देखि आम्दानीमा योगदान दिन सुरु गर्ने अपेक्षा गरेका छन् । यसको व्यावसायिक प्रयोग सुरुमा फाइभजी र त्यसपछि सिक्सजीमा हुनेछ ।
पीपी फोरसाइटका विश्लेषक पाओलो पेस्काटोरले यस सम्झौतालाई नोकियाको क्षमताको सबल पक्षको रूपमा व्याख्या गरेका छन् । उनले सिक्सजी जस्ता अर्को पुस्ताका नेटवर्कहरूले नयाँ एआई-सञ्चालित अनुभवहरू सक्षम पार्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
अप्रिलमा नोकियामा आबद्ध भएदेखि सीईओ होटार्डले कम्पनीको डेटा सेन्टर व्यवसाय विस्तारमा ध्यान केन्द्रित गरेका छन् । उनले जेन्सेन हुआङसँगको कुराकानीलाई तीव्र पारेका थिए र एनभिडियाले काम गर्ने गतिले उनलाई लोभ्याएको थियो ।
यसबाहेक नोकिया र एनभिडियाले टी-मोबाइल यूएससँग सिक्सजी विकासका लागि एआई रेडियो प्रविधिहरू विकास गर्न पनि छुट्टै साझेदारी गर्नेछन् । यसको परीक्षण अर्को वर्षदेखि सुरु हुने नोकियाले जनाएको छ ।
परामर्शदाता फर्म म्याकिन्सेको अनुमान अनुसार एआईको विस्तारका कारण २०३० सम्ममा डेटा सेन्टर पूर्वाधारमा पूँजीगत खर्च १.७ ट्रिलियन अमेरिकी डलर नाघ्ने अपेक्षा गरिएको छ । ड्यान्स्के बैँक क्रेडिट रिसर्चका विश्लेषक म्याड्स रोसेन्डलले एनभिडियाको चिप्स महँगो हुन सक्ने भए तापनि अमेरिकी डेटा सेन्टर बजारमा एनभिडियाको ठुलो हिस्सालाई ध्यानमा राख्दा यो प्रस्तावित साझेदारी दुवै कम्पनीका लागि पारस्परिक रूपमा लाभदायक हुने बताए ।
पछिल्लो अध्यावधिक: कात्तिक १३, २०८२ १०:३४
