किताबमा ‘लाखे’ लाई ‘जोकर’ लेखेको भन्दै सामाजिक सञ्जालमा विरोध, प्रकाशकले माग्यो माफी
कात्तिक १४, २०८२ १५:३२
काठमाडौँ । सञ्जीवनी पब्लिकेसन एन्ड डिस्ट्रिब्युटर प्रालिले किताबमा लाखेलाई त्रुटिवश जोकर लेखेको भन्दै माफी मागेको छ । भर्खरै अक्षर चिनिरहेका बालबालिकाहरूका लागि तयार पारिएको ‘सञ्जीवनी अल इन वान’ किताबमा अङ्ग्रेजी अल्फावेट जे फर जोकर (J for Joker) भनेर लाखेको तस्बिर छापेको भनेर विरोध भएपछि बुधबार एक विज्ञप्ति जारी गर्दै माफी मागेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक सरोज आचार्यले कुनैपनि समुदायको भावनामा चोट पुर्याउने उद्देश्य आफूहरूले नलिएको उल्लेख गरे । “यस प्रकाशनको कोही कसैको जात, संस्कृति, सम्प्रदाय विशेष धार्मिक आस्था वा पवित्र उद्देश्य एवं भावना माथि चोट पुर्याउने कुनै दुर्भाव नरहेको स्पष्ट पार्दै भविष्यमा यस प्रकारका त्रुटिहरू सच्याउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।
हाल बिक्रीका लागि बजारमा रहेका पाठ्यपुस्तकहरूलाई प्रकाशनको कार्यालयमा फिर्ता पठाउन समेत विज्ञप्तिमार्फत बिक्रेतालाई अनुरोध गरेको छ । यस्तै, आगामी संस्करणमा त्रुटि सच्याई प्रकाशन गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
पछिल्लो समयमा टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा विशेषगरी नेवा: समुदायका प्रयोगकर्ताहरूले उक्त किताबमा नेवा: समुदायले भगवानको रूपमा पुज्दै आएको लाखे (शान्त भैरव) को चित्रलाई जोकरको रूपमा प्रकाशन गरेर समुदायको आस्था माथि अपमान भएको भन्दै विरोध जनाएका थिए । उनीहरूले सो गल्तीका लागि प्रकाशकले माफी मागेर त्रुटि सच्याउनुपर्ने माग राखेका थिए ।
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८२ १५:३२
