फोटोशपको विकल्प ‘एफिनिटी’ एप क्यान्भाले किनेपछि अब सबैका लागि निःशुल्क
कात्तिक १४, २०८२ १७:५
काठमाडौं । फोटोशपको विकल्पमा प्रयोग हुँदै आएको चर्चित सफ्टवेयर एफिनिटी अब निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसअघि शुल्क लाग्दै आएको यो डिजाइनिङ एप अब कुनै शुल्क नतिरी निर्वाध रूपमा चलाउन सकिने भएको हो ।
गत वर्ष क्यान्भाले एफिनिटीको माउ कम्पनी सेरिफ ३८ करोड डलरमा खरिद गरेको थियो । त्यससँगै एफिनिटीको भविष्यबारे क्रिएटिभ समुदायमा ठुलो अन्योलता बढेको थियो ।
यम महिनाको सुरुवातमा एफिनिटीको वेबसाइट अस्थायी रूपमा बन्द भएको थियो । धेरैले क्यान्भाले शुल्क आधारित मोडल लागू गर्ने वा सफ्टवेयर नै बन्द गर्ने तयारी गरेको अनुमान गरेका थिए । तर, यी सबै अनुमानलाई पछि पार्दै क्यान्भाले एफिनिटीलाई पूर्ण निःशुल्क सफ्टवेयरको रूपमा पुनः सुरुवात गरेको छ ।
पहिले ग्राफिक डिजाइनर र पब्लिसिङ प्रोफेसनलले तीन ओटा छुट्टाछुट्टै एप प्रयोग गर्नुपर्ने बाध्यता थियो । प्रयोगकर्ताले फोटोशपको विकल्पमा एफिनिटी फोटो, इल्युस्ट्रेटरको विकल्पमा एफिनिटी डिजाइनर र डेस्कटप पब्लिसिङको विकल्पमा एफिनिटी पब्लिसर प्रयोग गर्दै आएका थिए ।
क्यान्भाले यी तीन ओटै छुट्टाछुट्टै एपलाई एउटै प्लेटफर्म ‘एफिनिटी’मा ल्याएको छ । यसको अर्थ अब प्रयोगकर्ताले भेक्टर, रास्टर र लेआउटका टुल एकै स्थानमा प्रयोग गर्न सक्नेछन् ।
नयाँ एफिनिटी एप अहिले म्याक र विन्डोज अपरेटिङ सिस्टमका लागि डाउनलोड गर्न उपलब्ध छ । यहाँ क्लिक गरेर विन्डोजका लागि उपयुक्त भर्सन छानेर डाउनलोड गर्न सकिन्छ भने यहाँ क्लिक गरेर म्याकका लागि एफिनिटी एप डाउनलोड गर्न सकिन्छ ।
कम्पनीले चाँडै नै आईप्याड भर्सन पनि ल्याउने तयारी गरेको छ । सबै प्लेटफर्मका लागि यो सफ्टवेयर पूर्ण रूपमा निःशुल्क हुनेछ ।
एफिनिटी विश्वकै उत्कृष्ट क्रिएटिभ सफ्टवेयरमध्येको एक मानिन्छ । यसैलाई निःशुल्क उपलब्ध गराउने घोषणापछि प्रयोगकर्ताले यसमा कुनै अतिरिक्त शुल्क पो छ कि भन्ने आशङ्का गरेका छन् । क्यान्भाका अनुसार एफिनिटी एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले एउटा निःशुल्क क्यान्भा अकाउन्ट भने बनाउनुपर्नेछ । तर, यसमा कुनै पनि प्रिमियम फिचरलाई शुल्क तिरेर मात्र प्रयोग गर्न मिल्ने गरी बन्द गरिएको छैन । सबै प्रमुख टुल जस्तै; सेलेक्सन टुल, क्लोन स्ट्याम्प, मास्किङ र एडजस्टमेन्ट लेयर सुरुदेखि नै निःशुल्क उपलब्ध हुनेछन् ।
नयाँ एफिनिटी सफ्टवेयरको इन्टरफेस नयाँ डिजाइनमा आएको भए पनि यसको प्रयोग पहिलेको जस्तै सहज र परिचित रहेको बताइएको छ । यसमा स्मार्ट सेलेक्सन, लाइभ फिल्टर, रिटचिङ टुलहरू र ब्याच प्रोसेसिङ जस्ता फिचर समावेश गरिएका छन् ।
एफिनिटीले एडोबीका प्रमुख फाइल फर्म्याट पीएसडी, एआई, पीडीएफ, एसभीजी, टीआईएफएफ र आईडीएमएल फाइल पनि सपोर्ट गर्छ । साथै यसमा क्यानन लगायत विभिन्न क्यामेराको र फोटो सिधै खोलेर एडिट गर्न सकिने सुविधा पनि छ ।
क्यान्भाले एफिनिटीलाई निःशुल्क बनाउनुको पछाडि मुख्य व्यापारिक रणनीति एआई टुलबाट आम्दानी गर्नु रहेको स्पष्ट देखिएको छ । हाल एडोबीले फोटोशपमा ‘जेनेरेटिभ फिल’, ‘अब्जेक्ट रिमुभल’ जस्ता एआई-सञ्चालित टुल समावेश गरी आफ्नो प्रभुत्व कायम राखेको छ । एफिनिटीको निःशुल्क भर्सनमा यी एआई टुल उपलब्ध गराइएका छैनन् । तर, क्यान्भाले आफ्नो प्रिमियम मेम्बरशिप ‘क्यान्भा प्रो’ प्रयोगकर्ताका लागि नयाँ ‘क्यान्भा एआई स्टुडियो’ को एक्सेस एफिनिटी भित्रै उपलब्ध गराएको छ । यसले गर्दा क्यान्भा प्रो प्रयोगकर्तालाई ‘जेनेरेटिभ फिल’, ‘एक्सपान्ड एन्ड एडिट’ र ‘रिमुभ ब्याकग्राउन्ड’ जस्ता एआई फिचर एफिनिटीभित्रै प्रयोग गर्न सक्छन् । यसैबाट आम्दानी गर्ने रणनीति क्यान्भाको रहेको देखिन्छ ।
क्यान्भाले एफिनिटीको विकास प्रयोगकर्तासँगको निकट सहकार्यमा भएको र सबै एआई फिचर प्रयोगकर्ताको डिभाइसमै सञ्चालन हुने भएकाले प्रयोगकर्ताको काम एआईलाई तालिमका दिन प्रयोग नगरिने प्रतिबद्धता जनाएको छ ।
नयाँ प्रयोगकर्ता र हालसम्म क्यान्भा अकाउन्ट नभएका एफिनिटी प्रयोगकर्ताले अब यो नयाँ एप डाउनलोड गर्नका लागि निःशुल्क क्यान्भा अकाउन्ट बनाउनुपर्नेछ । यसअघिका एफिनिटीका तीन ओटा छुट्टाछुट्टै एप भने प्रयोग गर्न मिल्ने अवस्थामा नै रहेका छन् ।
फोटोशप प्रयोग गर्नका लागि स्तरीय डिभाइस र महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ । त्यसैको विकल्पमा एफिनिटीले सस्तोमा त्यस्तै फिचर उपलब्ध गराउँदै आएको थियो । अब भने सबै किसिमका प्रयोगकर्ताले कुनै पनि शुल्क नतिरी एफिनिटी प्रयोग गर्न सक्ने भएका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८२ १९:३८
