कात्तिक २१-२२ मा ‘नास आईटी एक्सपो’, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित
कात्तिक १६, २०८२ १४:३४
काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज (नास आईटी) ले आउँदो २१ र २२ कात्तिकमा ‘नास आईटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिनेछन् । स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलोपटक आफूहरूले यस्तो एक्सपो गर्न लागेको नास आईटीका अध्यक्ष गौरव पाण्डेले जानकारी दिए ।
“एक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्यका अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,” पाण्डेले आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा भने ।
नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले एक्सपोप्रति आईटी र व्यावसायिक समुदायबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले आफूहरू हौसिएको बताए । “सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने यो एक्सपो ऐतिहासिक माइलस्टोन हुनेछ,” उनले भने ।
एक्स्पोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर ‘टिग’ (Tigg) रहेको छ । परम्परागत प्रदर्शनीभन्दा फरक बनाइएको यो कार्यक्रम व्यावसायिक अवसर, सहकार्य र ब्रान्ड निर्माणका लागि गतिशील मञ्चका रूपमा प्रस्तुत गरिने नास आईटीले जनाएको छ ।
कार्यक्रममा विशेष गरी एआई र डिजिटल रूपान्तरणमा केन्द्रित हुने जनाइएको छ ।
नास आईटीकी महासचिव एलिसा श्रेष्ठले भनिन्, “नास आईटी एक्सपो केवल एक प्रदर्शनी नभई नेपालको आईटी प्रतिभा र व्यावसायिक अवसरबिचको सेतु बन्नेछ ।”
एक्सपोमा ३० भन्दा बढी आईटी सेवा र उत्पादनहरूको प्रदर्शनी हुने बताइएको छ । अवलोकनकर्ताका लागि विशेष अफरको व्यवस्था पनि गरिएको नास आईटीले जनाएको छ । साथै कम्पनीहरूले आफ्ना नयाँ डिजिटल समाधान सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्ना विचार प्रस्तुत गर्न सक्नेछन् ।
एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहनेछ । कार्यक्रमको अवलोकन निःशुल्क हुनेछ र टिकट यहाँ क्लिक गरी लिन सकिनेछ ।
एक्स्पोको सिल्भर स्पोन्सरमा इसेवा, साथै र्यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वर्ल्ड लगायतका सहकार्य रहेका छन् । दिगो विकास साझेदारका रूपमा ग्लोबल आइएमई बैंक र आर्किङ कलेज रहेका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ १४:३४
