३० करोड लागतमा १२ लाख ड्राइभिङ लाइसेन्स सुरक्षण मुद्रण केन्द्रमार्फत छापिने, यस्तो छ तयारी
कात्तिक १६, २०८२ १६:४७
सांकेतिक तस्बिर
काठमाडौँ । यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत १२ लाख सवारीचालक अनुमति पत्र छपाइ थाल्ने तयारी गरेको छ । आफूसँग भएको लाइसेन्स छाप्ने मसिनसहितका उपकरण गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएपछि विभागले केन्द्रबाट लाइसेन्स छाप्ने भएको हो ।
गत जेठमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबिच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
केही दिनअघि मात्रै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच क्षतिग्रस्त भएको विभागको सूचना प्रणाली पूर्वाधारबाट लाइसेन्सका विवरण रिकभर भएपछि तुरुन्तै लाइसेन्स छपाइ थाल्ने समझदारी भएको थियो । सोहीअनुसार विभागले अहिले सवारीचालक अनुमतिपत्रसम्बन्धी विवरण रिकभरको काम गरिरहेको छ ।
केन्द्रका अनुसार विभागसँगको समन्वयमा १२ लाख लाइसेन्स छपाइको तयारी भइरहेको छ । जसका लागि विभागले करिब ३० करोड रुपैयाँ केन्द्रलाई उपलब्ध गराउने छ ।
“विभागले अहिले क्षति पुगेको सर्भरबाट सवारीचालक अनुमपतिपत्र छपाइका लागि आवश्यक डेटा रिकभर गरिरहेको छ । हामीलाई अहिलेसम्म प्राप्त भएको छैन । डेटा रिकभर गर्न सक्ने भयौं भन्ने जानकारी आएको छ । रिकभरको सम्पूर्ण प्रक्रिया अन्तिममा पुगेको खबर आएको छ । ३० करोड रुपैयाँ बजेटले करिब १२ लाख लाइसेन्स छाप्न सक्ने देखिएको छ,” केन्द्र एक प्राविधिकले टेकपानासँग भने ।
विभागले केन्द्रलाई छाप्नुपर्ने लाइसेन्सको स्याम्पल उपलब्ध गराएपछि स्याम्पलिङको काम अघि बढ्नेछ । विभागले लाइसेन्सको डेटा केन्द्रलाई उपलब्ध गराएको तीन दिनपछि छपाइ थाल्ने केन्द्रको तयारी छ ।
“१२ लाख लाइसेन्स छपाइ गर्न सक्ने क्षमता छ । बजेट उपलब्ध भयो भने आवश्यकअनुसार थप लाइसेन्स छाप्न केन्द्र सक्षम छ । प्राविधिक रूपमा पनि हामी तयार छौं । मुख्य कुरा भनेको विभागबाट रिकभर भएको डेटा हामीलाई उपलब्ध हुनुपर्यो,” ती प्राविधिकले भने ।
पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ १६:४७
