close

पासपोर्ट अभाव भएपछि राहदानी विभागले भन्यो- ‘अत्यावश्यक परे मात्रै निवेदन दिनू’

टेकपाना टेकपाना

कात्तिक १६, २०८२ २२:२८

पासपोर्ट अभाव भएपछि राहदानी विभागले भन्यो- ‘अत्यावश्यक परे मात्रै निवेदन दिनू’

काठमाडौँ । राहदानी विभागले देशभर पासपोर्ट अभाव चर्किएको कारण अत्यावश्यक सेवाग्राहीहरूलाई मात्रै राहदानीका लागि आवेदन दिन आग्रह गरेको छ । एक सूचना निकाल्दै विभागले अत्यावश्यक अवस्थामा मात्रै राहदानी सेवा लिन अपिल गरेको हो ।

विभागका अनुसार हाल नयाँ आपूर्तिकर्ता र हालका आपूर्तिकर्ताबीच ‘ह्यान्डओभर–टेकओभर’ (Handover–Takeover) प्रक्रियाको संक्रमणकालीन अवस्था रहेकोले पासपोर्ट सीमित संख्यामा मात्र उपलब्ध छ ।

विभागले करिब ६४ लाख थान पासपोर्ट आपूर्ति गराउनका लागि नयाँ आपूर्तिकर्तासँग २०८२ साउनमा खरिद सम्झौता गरेको छ । सम्झौता अनुसार आगामी ११ फागुनदेखि छनोट भएका कम्पनीहरूले राहदानी सेवा सञ्चालन गर्न नयाँ पूर्वाधार तथा प्रणाली निर्माणको काम गरिरहेका छन् ।

राहदानी विभागले १३ मंसिर २०८१ मा पासपोर्ट खरिदका लागि ठेक्का आह्वान गरेको थियो । खरिद प्रक्रिया दुई प्याकेजमा विभाजन गरिएको छ । पहिलो प्याकेजमा म्युहलबौयर आईडी सर्भिस जीएमबीएचले एक अर्ब ५५ करोड रुपैयाँको र दोस्रो प्याकेजमा भेरिडोस जीएमबीएचले ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँको ठेक्का पाएका छन् ।

विभागले हाल पासपोर्टको सीमित उपलब्धताका कारण वितरणमा समस्या भएको जनाएको छ । सेवाग्राहीको उच्च माग व्यवस्थापन गर्न बायोमेट्रिक (फोटो खिच्ने, औँठाछाप दिने आदि) प्रक्रियाका लागि दैनिक एक हजार स्लट (सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक) मात्रै खुलाउने निर्णय गरिएको छ ।

सोमबारदेखि हरेक दिन साँझ ५ बजे ती स्लटहरू अनलाइन प्रणालीमार्फत खुल्नेछ । सामान्य अवस्थामा भने दैनिक करिब तीन हजार पासपोर्ट वितरण हुने गरेको विभागले जनाएको छ ।

यससँगै विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

गुनासोको लागि
टेलिफोन नं.: ०१-५९७०३२५ सिधा सम्पर्कका लागि (कार्यालय समयभित्र)
९८५१३५२००१ (WhatsApp बाट सन्देश पठाउनका लागि मात्र)
Email: [email protected].

जिज्ञासा/सोधपुछका लागि (Call Center)
टेलिफोन नं.: ०१-५९७०३३० (बिहान ९.०० बजेदेखि बेलुकी ५.०० बजेसम्म)

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८२ २२:२८