गुगल प्ले स्टोरमा थपियो एआईले तयार पारेको एप रिभ्युको सारांश, अब समय बर्बाद गर्नु नपर्ने
कात्तिक १७, २०८२ १०:६
काठमाडौँ । गुगलले प्ले स्टोरमा एप रिभ्युको सारांश (समरी) तयार पार्न एआई (आर्टिफिसियल इन्टेलिजेन्स) फिचर थप गरेको छ । कम्पनीले आफ्ना सेवा तथा प्लेटफर्महरूमा एआई फिचर एकीकृत गर्ने क्रममा यो कदम चालेको हो ।
यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई कुनै पनि एपका लागि एआईबाट तयार पारिएका सारांशहरू हेर्न सम्भव बनाउँछ । यसको अर्थ प्रयोगकर्ताहरूले अब कुनै पनि एपको बारेमा अन्य प्रयोगकर्ताहरूको सामान्य धारणा जान्नका लागि विभिन्न कमेन्टहरू पढेर समय खेर फाल्नु पर्दैन ।
गुगलले एक वर्षभन्दा बढी समयदेखि परीक्षण गरिरहेको यो सुविधाको अन्ततः आधिकारिक रूपमा रोलआउट सुरु गरेको हो । यद्यपि गुगलले गर्ने अन्य कामहरू जस्तै, यो सुविधाको रोलआउट सुस्त रहेको छ । यो अहिले व्यापक रूपमा देखिन थाले पनि सबै प्रयोगकर्ताहरूको लागि भने उपलब्ध भइसकेको छैन ।
एप रिभ्युहरूको सारांश एउटा छोटो अनुच्छेदको रूपमा देखिन्छ । यसले प्रयोगकर्ताहरूले उल्लेख गरेका सबैभन्दा सामान्य सकारात्मक र नकारात्मक बुँदाहरूलाई प्रकाश पार्ने प्रयास गर्छ ।
आफ्नो डिभाइसमा यो अपडेट आएको छ कि छैन भनी जाँच गर्न प्ले स्टोर एप खोलेर कुनै पनि एपको डिटेल पेज (details page) मा ट्याप गर्नुपर्छ । त्यसपछि रिभ्यु खण्डमा स्क्रोल गर्नुपर्छ ।
यदि रिभ्युहरूको ठिक माथि Users are Saying (प्रयोगकर्ताहरूले भन्दैछन्) भन्ने हेडिङ वा बोल्ड शीर्षक देखिएमा तपाईँले पछिल्लो अपडेट पाउनुभएको छ भन्ने बुझिन्छ ।
एआई सारांशहरू केवल ती एपहरूको लागि मात्र उपलब्ध हुनेछ, जसमा पर्याप्त मात्रामा रिभ्युहरू रहेका हुन्छन् । यद्यपि गुगलले यसका लागि आवश्यक निश्चित थ्रेसहोल्ड के हो भन्नेबारे जानकारी सार्वजनिक गरेको छैन ।
सारांश अनुच्छेद (summary paragraph) को तल प्रयोगकर्ताहरूले चिप्स भनिने अन्तरक्रियात्मक विकल्प भेट्टानेछन् । यी चिपहरूमा ट्याप गर्दा प्रयोगकर्ताहरूलाई सिधै कुनै विशेष विषय उल्लेख गरिएका रिभ्युमा पुर्याउँछ ।
यी विषयहरूमा प्रर्फर्मेन्स, विज्ञापन वा डिजाइन जस्ता विषयहरू समावेश हुन सक्छन् । एआईको यो एप रिभ्युहरूको सारांश सापेक्षिक रूपमा सहयोगी मानिएको छ ।
यस्तो सुविधा ल्याउने गुगल एक मात्र कम्पनी भने होइन । यस वर्षको अप्रिलमा एप्पलले पनि आईओएस एप स्टोरमा यस्तै प्रकारको सुविधा लागु गरेको थियो ।
गुगलले पनि लगभग एप्पलले गरेजस्तै गरी यो फिचर लागु गरेको छ । यस बाहेक अमेजनले पनि केही समयदेखि एआई सिर्जित प्रोडक्ट रिभ्यु सारांशहरू उपलब्ध गराउँदै आएको छ ।
गुगलले प्ले स्टोरमा यो सुविधा ल्याएपछि प्रमुख एप बजारका प्रयोगकर्ताहरूका लागि सही एप पत्ता लगाउन र स्मार्टफोनमा इन्स्टल गर्नुअघि एपहरूको मूल्याङ्कन गर्न तथा त्यसका बारेमा पढ्न छिटो र सरल हुनेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८२ १०:६
