काठमाडौँ । भ्लगर सिसन बानियाँको इन्स्टाग्राम अकाउन्ट निष्क्रिय भएको पाइएको छ । चार लाखभन्दा बढी फलोअर भएको उक्त प्रोफाइल हाल प्लेटफर्ममा गायब छ ।
‘@sisanbaniya’ युजरनेम रहेको उक्त प्रोफाइल खोज्दा हाल ‘प्रोफाइल उपलब्ध छैन’ (Profile isn't available) भन्ने सन्देश देखिन्छ । गुगलमा इन्डेक्स गरिएका पुराना जानकारी अनुसार बानियाँको उक्त अकाउन्टमा ४ लाख ६ हजारभन्दा बढी फलोअर थिए । प्रोफाइलको लिङ्कमा क्लिक गर्दा प्रोफाइल मेटाइएको (हटाइएको) वा लिङ्क बिग्रिएको भन्ने सूचना देखा पर्छ ।
अकाउन्ट किन र कसरी निष्क्रिय भयो भन्नेबारे भ्लगर बानियाँले अहिलेसम्म सार्वजनिक रूपमा कुनै स्पष्टीकरण दिएका छैनन् । यद्यपि उनको आधिकारिक एक्स ह्यान्डल, टिकटक अकाउन्ट, व्यक्तिगत युट्युब च्यानल र फेसबुक पेज भने यथावत् छन् ।
बानियाँले सञ्चालन गरेको युट्युब च्यानल ‘प्याराडाइम टिभी’ पछिल्लो समय केही गम्भीर विवादमा तानिएको थियो । विशेषगरी क्रिकेटर सन्दीप लामिछाने, गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहान तथा मोटोभ्लगर सुरक्षा केसी जोडिएका सामग्रीलाई लिएर यो च्यानल विवादित बनेको थियो ।
यी इन्फ्ल्युएन्सरका समर्थकहरूले त्यसयता बानियाँको सामाजिक सञ्जाल पोस्टमा निरन्तर कडा आलोचना र नकारात्मक टिप्पणी गर्दै आएका थिए ।
पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८२ २१:१६
