नेपाल-भारत अन्तरदेशीय विद्युतीय भुक्तानी सहजीकरण गराउन राष्ट्र बैंक र आरबीआईबिच छलफल
कात्तिक १७, २०८२ २२:५६
काठमाडौँ । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्ब बैंक (आरबीआई)बिच नेपाल-भारतबिच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार सहजीकरणको विषयमा छलफल भएको छ ।
सोमबार काठमाडौँमा भएको नेपाल राष्ट्र बैंक र आरबीआईको साझा समन्वय संयन्त्र (जेटीसीसी)को नवौं बैठकमा नेपाल र भारतबिच अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबारको सहजीकरण गर्ने विषयमा छलफल भएको हो ।
बैठकको दोस्रो सत्रमा दुवै केन्द्रीय बैंकका जेटीसीसी आबद्ध अधिकारीबिच भएको द्विपक्षीय सरोकारका विभिन्न एजेन्डामध्ये क्रसबोर्ड भुक्तानीको विषयमा पनि छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
बैठकमा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल* र आईआरबीको तर्फबाट कार्यकारी निर्देशक एवम् जेटीसीसी संयोजक अर्णव कुमार चौधरीसहितका अधिकारीको सहभागी थियो ।
अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबिच फागुन २०८० मा सम्झौता भएको थियो ।
त्यसपछि नेपाल क्लियरिङ हाउस लिमिटेड र फोनपेले अन्तरदेशीय कारोबार गराइरहेका छन् । भारतीय पर्यटक नेपाल आउँदा सहज रूपमा अन्तरदेशीय कारोबार गराइरहँदा नेपालीले भने भारतमा भुक्तानी गर्न सकिरहेका छैनन् ।
*समाचारमा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८२ १:१२
