काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले अमेजनसँग सात वर्षको लागि ३८ अर्ब अमेरिकी डलरको क्लाउड सेवा सम्झौता गरेको छ । सोमबार दुई कम्पनीबिच यो सम्झौता भएको हो ।
सात वर्षको यो सम्झौताले ओपनएआईलाई आफ्ना एआई मोडेलहरूलाई तालिम दिन र सञ्चालन गर्नका लागि हजारौँ एनभिडिया ग्राफिक्स प्रोसेसरहरूमा पहुँच दिनेछ । अमेजनले डेटा क्लस्टरहरूमा एनभिडियाको जीबी २०० र जीबी ३०० एआई एक्सेलरेटर सहित लाखौँ चिप रोल आउट गर्ने योजना बनाएको छ । यी डेटा क्लस्टरहरू च्याटजीपीटीका प्रतिक्रियाहरूलाई शक्ति दिन र ओपनएआईका मोडेलहरूको अर्को लहरलाई तालिम दिनका लागि निर्माण गरिएका हुन् ।
ओपनएआईले तुरुन्तै अमेजन वेब सर्भिस (एडब्लूएस) प्रयोग गर्न सुरु गर्नेछ । योजना अनुसार सम्पूर्ण क्षमता २०२६ को अन्त्यसम्ममा अनलाइन हुनेछ र २०२७ र त्यसपछिका वर्षहरूमा थप विस्तार गरिनेछ । एडब्लूएसले यस अघिदेखि नै अमेजन बेडरोक (Amazon Bedrock) मा ओपनएआईका ओपन वेट मोडेलहरू प्रदान गरिरहेको छ । जसले एडब्लूएस प्रयोग गर्ने व्यवसायहरूका लागि धेरै एआई मोडेलहरू उपलब्ध गराउँछ ।
ओपनएआईका सीईओ साम अल्टम्यानले एडब्लूएससँगको साझेदारीले अर्को युगलाई शक्ति दिने र एड्भान्स एआईलाई सबैसामु पुर्याउने व्यापक कम्प्युट इकोसिस्टमलाई बलियो बनाउने बताए ।
यो सम्झौता अमेजनको क्लाउड एकाइ अमेजन वेब सर्भिस (एडब्लूएस) का लागि निकै ठुलो उपलब्धि हो । केही लगानीकर्ताहरूले एडब्लूएस एआई दौडमा प्रतिद्वन्द्वी माइक्रोसफ्ट र गुगलभन्दा पछि परेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
यो सम्झौताको घोषणासँगै अमेजनको शेयर सोमबार सर्वकालीन उच्च विन्दुमा पुग्यो । यसबाट कम्पनीको बजार मूल्यमा करिब १४० अर्ब डलर थपिने भएको छ । अमेजनको शेयर अन्तिम पटक ५ प्रतिशतले बढेको थियो, जुन शुक्रबारको झन्डै १० प्रतिशत उछालपछि भएको वृद्धि हो ।
पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८२ ८:२२
