close

नेपालका २५ स्टार्टअपलाई आईआईटी मद्रास प्रवर्द्धकमा इन्क्युबेसनको अवसर

टेकपाना टेकपाना

कात्तिक १९, २०८२ १६:५

नेपालका २५ स्टार्टअपलाई आईआईटी मद्रास प्रवर्द्धकमा इन्क्युबेसनको अवसर

काठमाडौँ । नेपालका २५ स्टार्टअपले आईआईटीएम प्रवर्द्धकबाट इन्क्युबेसनको मौका पाउने भएका छन् । नेपालस्थित भारतीय दूतावासको सहयोगमा आईआईटी मद्रास प्रवर्द्धक टेक्नोलोजी फाउन्डेसन (IITM Pravartak Technologies Foundation)ले ती स्टार्टअपहरूलाई आठ हप्ताको तालिम प्रदान गर्ने भएको हो । 

मंगलबार काठमाडौँस्थित भारतीय दूतावासमा एक कार्यक्रम गर्दै इन्डिया-नेपाल स्टार्टअप पार्टनरशिप प्रोगामअन्तर्गत उक्त सहकार्य गर्न लागिएको जानकारी दिइयो । उक्त कार्यक्रममा नेपाली स्टार्टअपहरूलाई उद्यमशीलता सम्बन्धी तालिम, स्पेसलाइज्ड स्किल्ड तालिम र इन्टर्नशिप  प्रदान गर्ने आईआईटीएम प्रवर्द्धकले जनाएको छ । साथै ती स्टार्टअपले भारतीय स्टार्टअप इकोसिस्टममा जोडिन र त्यहाँको बजारमा आफूलाई विस्तार गर्न पनि सहयोग उपलब्ध गराउने जनाएको छ । 

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत स्टार्टअपहरूले आवेदन दिन सक्नेछन् । आवेदन दिएका स्टार्टबाट छनोट समितिले प्रारम्भिक सूची तयार पार्नेछ । सोपछि अनलाइन अन्तर्वार्ता लिएर इन्क्युबेसनका लागि छनोट गरिनेछ । यसरी छनोट भएका स्टार्टअप कम्पनीबाट एक जना सदस्यले कार्यक्रममा सहभागी जनाउन सक्नेछन् । 

इन्डियन इन्स्टिच्युड अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) को टेक्नोलोजी इनोभेसन हबका रूपमा चिनिएको प्रवर्द्धक टेक्नोलोजीले प्रविधिसँग सम्बन्धि इनोभेसन लगायतका काम गर्दै आएको छ । 

आईआईटीएम प्रवर्द्धकले एआई, साइबरसेक्युरिटी, हेल्थकेयर, फिनटेक लगायतका कयौँ स्टार्टअपलाई इन्क्युबेट समेत गरेको छ । हाल इन्क्युबेसनका लागि छनोट भएका नेपाली स्टार्टअपले प्रवर्द्धकसँग जोडिएका स्टार्टअपसँग कनेक्ट हुन पाउने अवसर पनि रहेको जनाइएको छ । 

उक्त कार्यक्रममा सहभागी हुन १५ नोभेम्बरसम्म आवेदन दिने समय तोकिएको छ । आवेदन दिने स्टार्टअपहरूबाट २५ स्टार्टअप भारतमा जानका लागि छनोट हुनेछन् । १ डिसेम्बरदेखि तमिलनाडुस्थित आईआईटीएम प्रवर्धकको कार्यालयमा तालिम सुरु हुनेछन् । तालिमका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।  

कार्यक्रमका लागि छनोट भएका स्टार्टअपका प्रतिनिधिको खाना, वासस्थान, कोर्सको शुल्क लगायतका सम्पूर्ण खर्च भारतीय दूतावासले ब्यहोर्ने जनाइएको छ । उक्त कार्यक्रमले नेपाल र भारतको स्टार्टअप इकोसिस्टमलाई एक-अर्कासँग जोड्न सहयोग पुर्‍याउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले अपेक्षा राखिन् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८२ १६:५