close

नेपाललाई विश्वसनीय प्रविधि केन्द्र बनाउने लक्ष्यसहित नास-आईटी एक्स्पो आयोजना

टेकपाना टेकपाना

कात्तिक २२, २०८२ ७:३७

नेपाललाई विश्वसनीय प्रविधि केन्द्र बनाउने लक्ष्यसहित नास-आईटी एक्स्पो आयोजना

काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) को आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘टिग एनएएस-आईटी एक्स्पो २०२५’ सुरु भएको छ । ‘Connecting Businesses with Technology and Shaping Nepal’s AI Future’ नाराका साथ शुक्रबारदेखि सुरु भएको यो दुईदिने प्रविधि प्रदर्शनीमा ३५ भन्दा बढी प्रविधि कम्पनीहरूको सहभागिता छ भने उद्योगका अगुवादेखि नीति निर्माता, लगानीकर्ता, नवप्रवर्तक र अन्तर्राष्ट्रिय अतिथिहरूको उपस्थिति रहेको छ ।

उद्घाटन समारोहमा नास-आईटीका अध्यक्ष गौरव पाण्डेले नेपाललाई डिजिटल प्रतिभा, प्रविधि समाधान र नवप्रवर्तनका लागि विश्वसनीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार यो एक्स्पो प्रविधि प्रदर्शनको मात्र अवसर नभई संवाद, सहकार्य र प्रगतिका लागि साझा मञ्च पनि भएको बताए ।

कार्यक्रममा टिगकी सह-संस्थापक प्रार्थना साखाले स्थानीय नवप्रवर्तकलाई सहयोग र प्रवर्द्धन गर्न पाएको अवसरलाई गर्वका रूपमा लिएकी बताइन् । उनले भनिन्, “जब एउटा कम्पनी बढ्छ, सम्पूर्ण प्रविधि समुदाय अगाडि बढ्छ । नेपाल प्रविधिको उपभोक्ता मात्र होइन, सिर्जनाकर्ता पनि हो भन्ने सन्देश दिन यो पहल महत्त्वपूर्ण छ ।”

कार्यक्रममा विभिन्न विषयमा सत्रहरू आयोजना गरिएका थिए । इसेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ‘डिजिटल नेपाल- सहकार्यमार्फत नगदरहित भविष्य निर्माण’ शीर्षकमा किनोट स्पिच दिँदै नेपालमा डिजिटल भुक्तानी विस्तारको दृष्टिकोण सुनाए ।

कोडिङ माउन्टेन यूएसएका प्रमुख कार्यकारी प्रीतेश उपाध्यायले ‘Winning Clients Globally: Sales Strategy and Pitching for Success’ शीर्षकमा नेपाली कम्पनीहरूलाई विश्वबजारमा प्रवेशका उपाय सुझाए ।

अबाकस इन्साइट्स इन्क. का प्राविधिक प्रमुख नवदीप आलमले ‘Bridging Continents: Why American Firms are Building Teams in Nepal’ सत्रमार्फत अमेरिकन कम्पनीहरूले नेपालमा प्रविधि टिम विस्तार गर्न थालेको विश्वासबारे बोले ।

त्यस्तै द आइयेल कम्पनीका प्रमुख कार्यकारी कुबोता मित्सुहिरोले ‘Bridging Borders: Opportunities for Nepali IT Companies in Japan’ सत्रमा जापान-नेपाल प्रविधि सहकार्यका सम्भावनाबारे जानकारी दिए ।

समापन सत्रमा नास-आईटीका उपाध्यक्ष दीपेन चापागाईंले नवप्रवर्तक, लगानीकर्ता र संस्थाबिचको सहकार्य प्रविधि-प्रेरित भविष्य निर्माणको मुख्य आधार हुने बताए । उनका अनुसार एक्स्पोले नेपालको प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ ।

टिग नास-आईटी एक्स्पो २०२५ मा प्रविधि प्रदर्शन, लगानीकर्तासँगको नेटवर्किङ, नयाँ उत्पादन सार्वजनिक कार्यक्रम र एआई आधारित समाधान प्रदर्शन भइरहेका छन्  ।

नेपालको सफ्टवेयर र सूचना प्रविधि क्षेत्रलाई प्रतिनिधित्व गर्ने गैर-नाफामुखी संस्था नास-आईटीले नवप्रवर्तन, सहकार्य र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता प्रवर्द्धन गर्दै नेपाललाई विश्वसनीय प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८२ ७:३७