close

सिटिजन्स बैंकको क्यूआर लिएका मर्चेन्टले मोबाइलबाटै ५ लाखसम्मको ऋण पाउने

टेकपाना टेकपाना

कात्तिक २३, २०८२ १५:१३

सिटिजन्स बैंकको क्यूआर लिएका मर्चेन्टले मोबाइलबाटै ५ लाखसम्मको ऋण पाउने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा आबद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण योजना ल्याएको छ । बैंकले मर्चेन्टहरूलाई सहजै ऋण सुविधा दिने गरी ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ सार्वजनिक गरेको हो ।

यो योजना आफ्नो डिजिटल बैङ्किङ यात्राको अर्को महत्त्वपूर्ण कदम भएको बैंकको भनाइ छ । जसको माध्यमबाट साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा उपलब्ध गराइनेछ ।

सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन् । यो डिजिटल ऋण योजना अन्तर्गत व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने छ ।

योग्य ग्राहकले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । ऋण सुविधा अन्तर्गत न्यूनतम ५० हजारदेखि अधिकतम पाँच लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ ।

ऋण भुक्तानी मासिक किस्ता मार्फत गर्नुपर्ने बैंकले जनाएको छ । यो नयाँ डिजिटल ऋण सुविधामार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाई उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले क्यूआर मर्चेन्ट लोन एउटा कोशेढुङ्गो भएको तथा यसले कर्जामा सहज रूपले ग्राहक र बैंकलाई जोडने बताए ।

बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरेको छ ।

यसबाहेक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा छ । क्रस बैंक टेलर सुविधा अन्तर्गत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८२ १५:३०