स्लिम डिजाइन र नयाँ क्यामेरा बटनसहित आउँदै अनर ५०० सिरिज, यस्तो छ पहिलो झलक
कात्तिक २६, २०८२ १६:२०
काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता अनरले अनर ५०० सिरिज छिट्टै बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमार्फत उक्त सिरिजका दुई मोडेल अनर ५०० र अनर ५०० प्रोको टिजर सार्वजनिक गरेको छ ।
सार्वजनिक तस्बिरमा फोनको पछाडिको भाग केही हदसम्म देखाइएको छ । उक्त सिरिजका दुवै मोडेलहरू स्लिम डिजाइनमा तयार पारिएका छन् भने साइडमा नयाँ बटन देखिएको छ । जसलाई धेरैले ‘क्यामेरा सटर की’ मानिरहेका छन् । टिजरमा आईफोन एअर शैलीको रियर क्यामेरा मोड्युल हल्का रूपमा झल्किएको देखिन्छ ।
विभिन्न स्रोतका अनुसार अनर ५०० मा डुअल–रियर क्यामेरा सेटअप रहनेछ भने ५०० प्रो मा ट्रिपल–रियर क्यामेरा युनिट जडान गरिने अनुमान छ ।
हार्डवेयरको कुरा गर्दा बेस मोडेल स्न्यापड्रागन ८एस जेन फोर चिपसेटमा आधारित रहने र प्रो भर्सनमा स्न्यापड्रागन ८ एलिट चिपसेट प्रयोग हुने बताइएको छ । दुवै मोडेलमा ६.५ इन्चको डिस्प्ले उपलब्ध हुने चर्चा छ ।
अनरले सार्वजनिक हुने मिति आधिकारिक नखुलाए पनि टिजर प्रस्तुत गरिसकेकाले यो सिरिज छिट्टै चाँडै नै बजारमा उपलब्ध हुने चिनियाँ मिडियाले अनुमान गरेका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८२ १६:२०
