एआई, ड्रोन, रकेटदेखि सफ्टवेयरसम्मका नेपाली उत्पादनको प्रदर्शनी, स्टार्टअप-लगानीकर्ता एकै ठाउँ
कात्तिक २९, २०८२ १२:५५
काठमाडौँ । राजधानीमा दुई दिने ‘सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ इन एसोसिएसन विथ टिङटिङ र पावर्ड बाइ सस्तोटिकेट्स’ आयोजना गरिएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा लिभिङ विथ आईसीटी, आईसीटी फाउन्डेसन नेपाल र स्क्वाड अफ चेन्जमेकरको संयुक्त आयोजनामा बिहीबार र शुक्रबार उक्त फेस्ट भएको हो ।
फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप र इनोभेसन सहभागी भएका थिए । कार्यक्रममा सफ्टवेयर, रोबोटिक्स, ड्रोन, एआई, रकेट तथा एयरोस्पेसलगायतका उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएका थिए । यसबाट आईसीटी उद्योग जगतका प्रतिनिधिहरूलाई नेपाली युवा उद्यमशीलताको नवीनतम क्षमता नजिकबाट बुझ्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।
फेस्टको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल उपस्थित थिइन् । उनले पछिल्लो समय युवाहरूमा स्टार्टअप र इनोभेसनप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै सरकार पनि सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार र कानुनी सुधारमा निरन्तर काम गरिरहेको बताइन्।
यसैगरी समापन समारोहमा प्रमुख अतिथिको रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउत सरिक थिए । उनले युवाहरूको नवीन सोच र आइडियालाई व्यवसायमा रूपान्तरण गर्न मन्त्रालयले स्टार्टअप कर्जा प्रदान गर्ने मात्र नभई उनीहरूलाई इन्क्युबेसन तथा एक्सिलेरेटर कार्यक्रमसँग जोड्ने कार्य गरिरहेको बताए । अब ट्रेडमार्क तथा आईपी दर्ता प्रक्रियालाई समेत अनलाइन प्रणालीमा रूपान्तरण गर्न लागिएको जानकारी पनि उनले दिए ।
त्यसैगरी शुक्रबार फेस्ट अवलोकन गरेकी उपसभामुख इन्दिरा रानाले कार्यक्रममा सहभागी नवप्रवर्तक युवाहरूका आइडियाले देशमा रहेको ठुलो सम्भावना उजागर गरेको प्रतिक्रिया दिइन् ।
आईसीटी विज्ञ मनोहर भट्टराईले फेस्टजस्ता कार्यक्रमहरूले नेपालमा स्टार्टअप इकोसिस्टमलाई गतिशील बनाउने तथा लगानीकर्ता र नवप्रवर्तकबीच सहकार्य विस्तार गर्न उल्लेखनीय भूमिका खेल्ने बताए ।
कार्यक्रमको सह-आयोजक तथा एरोस्पेस र ड्रोन प्रदर्शनीसम्बन्धी क्रियाशील द स्क्वाड अफ चेन्जमेकरका संस्थापक सुशील देव भट्टराईले यस्ता प्रदर्शनीहरूले बालबालिकामा विज्ञान र गणितजस्ता विषयप्रति रुचि बढाउने बताए ।
निःशुल्क प्रवेशको व्यवस्था रहेको कार्यक्रममा नवीन प्रविधि र इनोभेसन अवलोकन गर्न चाहनेहरू पुगेका थिए । यसअन्तर्गत सरकारी तथा निजी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, आईसीटी विज्ञ, लगानीकर्ता, कर्पोरेट लिडर, विद्यार्थी, क्यान महासंघ र नास-आईटीका पदाधिकारीलगायत १० हजारभन्दा बढी अवलोकनकर्ता उपस्थित भई फेस्टको प्रत्यक्ष अवलोकन गरेको आयोजकले प्रेस विज्ञप्तिमा जनाएको छ ।
आयोजकका अनुसार दर्शकहरूले युवाहरूका स्टार्टअप, इनोभेसन र प्रोटोटाइपहरू हेर्दै देशमा विकास भइरहेको डिजिटल इकोसिस्टमलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए ।
फेस्टका संयोजक तथा लिभिङ विथ आईसीटीका अध्यक्ष राजन लम्सालले नेपालमा स्टार्टअप र इनोभेसनको इकोसिस्टम विस्तार गर्ने उद्देश्यले पछिल्ला वर्षहरूदेखि स्टार्टअप फेस्ट र आईसीटी अवार्डजस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको जानकारी दिए । स्टार्टअपले ठुलो रोजगारी सिर्जना गर्ने र देशको जीडीपीमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै उनले स्टार्टअपका लागि उपलब्ध गराइँदै आएको कर्जा पर्याप्त नरहेको बताए । यसलाई अनुदानमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको पनि उनले औल्याए ।
फेस्टमा आईसीटी अवार्ड २०२५ का स्टार्टअप, प्रोडक्ट, राइजिङ स्टार र सोशल इनोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू समेत सहभागी भएका थिए । अवलोकनकर्ताहरूले ती उत्पादन र इनोभेसन प्रत्यक्ष अवलोकन गरी मनपरेका स्टार्टअप तथा आइडियालाई भोट दिएका थिए । उत्कृष्ट ५ छनोट गर्दा जुरीको मार्किङसँगै भोटिङको पनि प्रभावकारी भूमिका रहने आयोजकले जनाएको छ ।
स्टार्टअप तथा प्रोडक्टमा रुचि राख्ने लगानीकर्ताहरूका लागि विशेष प्रोडक्ट डेमो र नेटवर्किङ सेसन समेत राखिएको थियो, जहाँ सातै प्रदेशका स्टार्टअपहरूले आफ्ना आइडिया पिच गरेका थिए ।
फेस्टमा एआई-केन्द्रित शिक्षा प्रदान गर्ने सनवे कलेज, एआई प्रोडक्ट टिङटिङ, सस्तोटिकेट्स, इनड्राइभ, नेपालपे क्यूआर, एमआईटी कलेजलगायतका संस्थाहरूले पनि स्टल राखेर आफ्ना सेवा र प्रविधि प्रस्तुत गरेका थिए ।
फेस्टमा सहभागी एक्जिबिटर तथा आईसीटी अवार्ड २०२५ का सेमिफाइनलिस्टहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । आयोजकहरूका अनुसार फेस्टले नेपालमा विकास हुँदै गरेको स्टार्टअप तथा इनोभेसन क्षेत्रको वास्तविक अवस्था बुझ्न, नवप्रवर्तक युवाहरूको सिर्जनशीलता प्रत्यक्ष अवलोकन गर्न र देशभर रहेका उद्यमशील अवसरहरू पहिचान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
हाल आईसीटी अवार्ड २०२५ का १५ विधामा छनोट प्रक्रिया जारी रहेको छ, जसका लागि ७०० भन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । अवार्ड विजेता चयनका लागि करिब ६ महिनासम्म चल्ने विस्तृत मूल्यांकन प्रक्रिया हुने गर्दछ । यसका लागि आईसीटी विज्ञहरूसहितको जुरी तथा सल्लाहकार समिति गठन गरिएको आयोजकको भनाइ छ । आईसीटी अवार्ड २०२५ को ग्राण्ड फिनाले आगामी पुसमा हुनेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८२ १२:५५
