close

देशका ७४९ स्थानीय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, अब ४ गाउँपालिका बाँकी

टेकपाना टेकपाना

मंसिर ३, २०८२ १३:४८

देशका ७४९ स्थानीय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, अब ४ गाउँपालिका बाँकी

काठमाडौँ । देशका ७५३ मध्ये ७४९ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी सेवा पुगेको छ । कम्पनीले थप दुई स्थानीय तहमा सेवा विस्तार गरेसँगै अब फोरजी पुग्न बाँकी गाउँपालिकाको सङ्ख्या चार बाँकी रहेको हो ।

डोल्पाको छार्का ताङसोङ गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, शे-फोक्सुण्डो गाउँपालिका र मनाङको नार्पा भूमि गाउँपालिका बाहेक सबै स्थानीय तहमा टेलिकमको फोरजी सेवा पुगेको छ । टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरूमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । 

हुम्लाको सर्केगाड-३ र ६ मा पछिल्लो समय फोरजी सेवा सञ्चालनमा आएको हो । फोरजी सेवा सञ्चालनमा आएपछि सर्केगाड गाउँपालिकाका वडा नं २, ३,४ र ६ अन्तर्गत पर्ने स्थानका बासिन्दा ‍पहिलो पटक गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएको कम्पनीले जनाएको छ ।

सेवा विस्तार भएका स्थानहरूमा उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका क्षेत्र छन् । यसैगरी, टेलिकमले हुम्लाको अदानचुली-६ मा पनि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । फोरजी सेवा सञ्चालनमा आएसँगै सर्केगाड गाउँपालिकाको वडा नं २ र अदानचुली गाउँपालिकाका वडा नं २, ३, ४, ५ र ६ अन्तर्गत पर्ने स्थानका सेवाग्राही लाभान्वित भएका छन् । सेवा विस्तार भएका स्थानहरूमा पानचौर, कालिका लगायतका क्षेत्रहरू पर्ने टेलिकमले जनाएको छ । 

साथै, दैलेखको गुराँस गाउँपालिकाको पर्यटकीय क्षेत्र गुराँसमा फोरजी सेवा सञ्चालनमा आएसँगै गुराँस गाउँपालिका वडा नं ३, ४ र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं १४ अन्तर्गत पर्ने बयलकाँडा लगायतका क्षेत्र तथा बराहताल वडा नं ९ अन्तर्गत पर्ने लेकगाउँ लगायतका भू-भागहरूमा सेवाग्राहीहरू पहिलो पटक फोरजी सेवाको पहुँचमा पुगेका छन् । 

टेलिकमले जाजरकोटको जुनीचाँदे गाउँपालिकाको कोत्राङ्गमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । फोरजी सेवा सञ्चालनमा आएपछि जुनीचाँदे गाउँपालिकाका ७, ८, ९, १० र ११ नम्बर वडा अन्तर्गतका सेवाग्राही लाभान्वित हुने टेलिकमले जनाएको छ । 

यसका साथै डोल्पाको ठुलीभेरी नगरपालिका र शे-फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा आएसँगै सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चार पहुँचमा जोडिएको कम्पनीले जनाएको छ । 

सुलिगाडस्थित शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्का, भोक्पा, सागबारी लगायतका क्षेत्र पनि सञ्चारको पहुँचमा जोडिएका छन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर ३, २०८२ १३:४८