close

प्रहरीको छापापछि म्यानमारको अनलाइन स्क्यामिङ केन्द्रबाट थाइल्याण्ड भागेका ३७ नेपालीको उद्धार

टेकपाना टेकपाना

मंसिर ४, २०८२ १५:८

प्रहरीको छापापछि म्यानमारको अनलाइन स्क्यामिङ केन्द्रबाट थाइल्याण्ड भागेका ३७ नेपालीको उद्धार

काठमाडौँ । रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमार पुगेर अनलाइन स्क्यामिङ केन्द्रमा काम लगाइएका ३७ नेपालीको उद्धार गरिएको छ । 

अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा म्यानमार प्रहरीले छापा हानेपछि ३७ नेपाली भागेर थाइल्याण्ड प्रवेश गरेका थिए । ती केन्द्रमा नेपालीहरूलाई अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिशिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । 

१९ अक्टोबरमा म्यानमारको स्क्यामिङ केन्द्रमा स्थानीय सुरक्षाकर्मीले छापा हानेका थिए । भागेर थाइल्याण्ड पुगेकाहरूलाई त्यहाँ रहेको नेपाली राजदूतावासले सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरेर बुधबार नेपाल एयरलाइन्सको उडानबाट नेपाल फर्काएको छ ।

त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका दुई जना तथा कम्बोडियामा रहेका चार जना नेपालीहरूलाई छिटै नेपाल फर्काउने तयारी भइरहेको राजदूतावासले जनाएको छ । 

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान राजदूतावासको आग्रह छ । कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार,  थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका अनुरोध गरिएको छ ।

गत महिना पनि थाइल्याण्डस्थित नेपाली राजदूतावासले विभिन्न प्रलोभनमा परी म्यानमार पुगेर अनलाइन स्क्यामिङ केन्द्रमा अवैध रूपमा काम गरिरहेका १४ नेपालीलाई उद्धार गरेको थियो । उनीहरूलाई पनि अनलाइन स्क्यामिङ केन्द्रबाट उद्धार गरेर नेपाल फर्काइएको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८२ १५:४६