close

ट्रम्पले बनाए रोनाल्डोसँग फुटबल खेलेको एआई भिडिओ, सामाजिक सञ्जालमा चर्चा

टेकपाना टेकपाना

मंसिर ५, २०८२ ११:४८

ट्रम्पले बनाए रोनाल्डोसँग फुटबल खेलेको एआई भिडिओ, सामाजिक सञ्जालमा चर्चा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोसँग ह्वाइट हाउसमा सँगै फुटबल खेलेको एआई निर्मित भिडिओ सार्वजनिक गरेका छन् । रोनाल्डोसँग डिनर गरेको केही दिनपछि बिहीबार ट्रम्पले आफ्ना विभिन्न आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा उक्त भिडिओ पोस्ट गरेका हुन् ।

रोनाल्डोलाई एक महान व्यक्तिको संज्ञा दिँदै ट्रम्पले भिडिओको क्याप्सनमा लेखेका छन्, “Ronaldo is a GREAT GUY. Loved meeting him at the White House. Really smart, and cool!!! (रोनाल्डो एक महान व्यक्ति हुन् । उनलाई ह्वाइट हाउसमा भेट्न पाउँदा खुसी लाग्यो । साँच्चै चलाख र उत्कृष्ट!!!)

भिडिओमा ट्रम्प र रोनाल्डो राष्ट्रपति कार्यालय (ओभल अफिस) भित्र एक आपसमा बल पास गर्ने, किप-अप, हेडर र ड्रिबल गरिरहेको देखिन्छ । भिडिओको एक दृश्यमा ट्रम्प बल रोक्नका लागि घुम्छन् र क्यामेरातिर प्रहार गर्छन् ।

यो भिडिओलाई लिएर सामाजिक सञ्जालमा हजारौंले प्रतिक्रिया जनाएका छन्  । केहीले साँच्चिकैको भिडिओ भन्ठानेर आफ्ना धारणा राख्दा केहीले भिडिओको अपत्यारिलोपनमाथि व्यङ्ग्य गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, “जुन तरिकाले ट्रम्प बल हेड गर्न झुकेका छन्, त्यसले भिडिओलाई अझ रमाइलो बनाएको छ ।” अर्का एक प्रयोगकर्ताले व्यङ्ग्यात्मक टिप्पणी गर्दै लेखेका छन्, “आलोचकहरूले मात्र यसलाई एआई भन्छन् ।”

त्यसैगरी, अर्का प्रयोगकर्ताले लेखेका छन्, “मैले त यो कुनै ट्रोल पेज होला भन्ने सोचेको थिएँ । तर यो त यूएसएको राष्ट्रपतिको आधिकारिक ह्यान्डल रहेछ । हाहाहा ।”

कतिपयले ट्रम्पको टिमले यो भिडिओ बनाउन निकै दु:ख गरेको र यसका लागि एआईलाई धन्यवाद दिनुपर्ने भनेका छन् । साथै ट्रम्पको डिजिटल मार्केटिङ रणनीति तथा एआईको राजनीतिक प्रयोगबारे पनि प्रश्न उठेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ १२:७