close

आफू रास्वपा प्रवेश गर्न लागेको पोस्ट देखेपछि पुनले भने- समाज भड्काउने पेज रिपोर्ट गर्दिनू

टेकपाना टेकपाना

मंसिर ६, २०८२ १५:२०

आफू रास्वपा प्रवेश गर्न लागेको पोस्ट देखेपछि पुनले भने- समाज भड्काउने पेज रिपोर्ट गर्दिनू

 

काठमाडौँ । फेसबुकमा आफूबारे भ्रामक पोस्ट भेटेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्यस्ता अकाउन्ट रिपोर्ट गरिदिन आग्रह गरेका छन् । शनिबार एक पोस्ट राख्दै पुनले समाजलाई भड्काउने गरी भ्रम फैलाउने अकाउन्टबाट सावधान रहन अनुरोध गरेका छन् । 

‘मिस पबी ४’ नाम भएको उक्त पेजले एआई सिर्जित फोटो राख्दै महावीर पुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्न लागेको दाबी गरेको छ । पोस्टमा इङ्गेजमेन्ट बढाउनका लागि ‘समर्थन गर्ने लाइक र ठीक वा बेठीक कमेन्ट’ गर्न समेत आग्रह गरिएको छ । 

मन्त्री पुनले स्क्रिनशट राख्दै भने, “सावधान ! मिस पबी फोर भन्ने फेसबुक पेजलाई रिपोर्ट गरेँ र अरू साथीहरू पनि सावधान हुनुहोस् ।”

आफू कुनै पनि पार्टीमा नलागेको र लाग्ने मान्छे पनि नभएको भन्दै पोस्ट सरासर भ्रामक भएको उनले उल्लेख गरे ।

८६ हजार बढी फलोअर भएको यो पेजले खासगरी रास्वपा सभापति रवि लामिछानेको विषयमा विभिन्न भ्रामक शीर्षक र एआई सिर्जित तस्बिर राखेर फलोअर बढाउने धन्धा चलाउँदै आएको देखिएको छ ।

टिकटकर एवम् मोडल पवित्रा साँखी (मिस पबी)को नाम दुरुपयोग गर्दै यो पेज सञ्चालनमा आएको हो । पछिल्लो समय फेसबुकमा कन्टेन्ट मोनिटाइजेन सुविधा आएकाले पैसा कमाउन नक्कली अकाउन्ट खोली भ्रामक पोस्ट फैलाउने गतिविधि बढिरहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८२ १५:२०