काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका-४ स्थित देउराली चोकबाट सशस्त्र प्रहरीले दुई थान अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले बिहीबार शनिबार हतियारसहित ती युवकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल मकवानपुरको हेटौँडा पमहानगरपालिका-१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्य रहेका छन् ।
प्रहरीले आचार्यको साथबाट ‘बेरेटा मेड इन ईटाली’ (Beretta Made in Italy) लेखिएको एक थान र ‘सीएफ ९८९’ (CF 989-00016908266) लेखिएको अर्को एक थान गरी दुई थान अटोमेटिक पेस्तोल बरामद गरेको छ । यसका साथै पेस्तोलमा लाग्ने दुई ओटा म्याग्जिन, १३ राउन्ड गोली र एक थान खुकुरीसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका आचार्यलाई बरामद हतियार तथा अन्य सामग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ६, २०८२ २२:३९
