काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू डिशहोम गो एपमार्फत सब्सक्राइब गरेर हेर्न आग्रह गरेका छन् । नेपाली क्रिकेटलाई नयाँ सोच र विचारका साथ अगाडि बढाउने उद्देश्यले सब्सक्रिप्सन मोडेल सुरु गरिएको भन्दै खड्काले अनधिकृत माध्यमको साटो आधिकारिक डिजिटल प्लेटफर्म प्रयोग गरी नेपाली क्रिकेटलाई सहयोग गर्न अपिल गरेका हुन् ।
मंगलबार एक भिडिओ सार्वजनिक गर्दै उनले सब्सक्रिप्सन मोडेललाई नेपाली क्रिकेटको भविष्यका लागि महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरे । यो मोडेल सफल भएमा यसबाट प्राप्त हुने आम्दानी भविष्यमा जिल्ला र प्रदेशको क्रिकेट विकास तथा तल्लो तह (ग्रास रुट) को संरचना बलियो बनाउन प्रयोग गरिने उनले जनाए ।
पछिल्लो समय युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम, टेलिग्राम तथा विभिन्न अनधिकृत वेबसाइट र एपमार्फत एनपीएलका खेलहरू गैरकानुनी रूपमा प्रसारण भइरहेको पाइएको छ । भारतबाहेक विश्वभर एनपीएलको ओटीटी प्रसारण सम्बन्धी सम्पूर्ण अधिकार डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम गो) ले लिएको छ ।
यसअघि क्यान र डिशहोमले संयुक्त रूपमा चेतावनी दिँदै खेलसम्बन्धी सामग्रीहरूको अनधिकृत बिक्री वितरण, पुनः प्रसारण, रेकर्डिङ वा सम्पादन गर्नु गैरकानुनी रहेको र त्यस्तो कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेका थिए । साथै, अनधिकृत लिंक र साइटहरूबाट खेल हेर्न खोज्दा व्यक्तिगत तथा वित्तीय विवरण सार्वजनिक भई साइबर अपराधको जोखिममा पर्न सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।
कुनै पनि माध्यमबाट अनधिकृत रूपमा खेल प्रसारण भएको सूचना प्राप्त भएमा तत्काल क्यान वा डिशहोमलाई जानकारी गराउन समेत सर्वसाधारणमा अनुरोध गरिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर ९, २०८२ १०:७
