close

थ्रीडी नक्सा र डिजिटल ट्वीन बनाउन लाइडार प्रविधिको सम्भाव्यता खोज्दै काठमाडौँ महानगर

टेकपाना टेकपाना

मंसिर ११, २०८२ १२:९

थ्रीडी नक्सा र डिजिटल ट्वीन बनाउन लाइडार प्रविधिको सम्भाव्यता खोज्दै काठमाडौँ महानगर

काठमाडौँ । सहरको भौगोलिक अवस्थिति, पूर्वाधार निर्माण, विकास क्रियाकलाप, प्राचीन संरचनालगायतका वस्तु, सेवा पूर्वाधार तथा अवस्थाको तथ्य प्राप्त गर्न लाइडार (लाइट डिटेक्सन एण्ड रेञ्जिङ) प्रविधि उपयुक्त हुने विज्ञहरूले बताएका छन् । 

काठमाडौँ महानगरपालिकाको सूचना प्रविधि विभागले आयोजना गरेको लाइडार प्रविधि र महानगरमा यसको प्रयोगको सम्भावना विषयक अन्तर्क्रिया कार्यक्रममा विज्ञहरूले यस्तो सम्भावना प्रस्तुत गरेका हुन् । 

लेजर सिग्नल प्रयोग गरेर सूक्ष्म थ्रीडी नक्सा र डिजिटल ट्वीन बनाउने विधि लाइडार हो । भौगोलिक सतह, सरचना र वातावरणका विभिन्न वस्तुहरूको उच्च सटीक दूरी नाप, थ्रीडी मोडलिङ, भू-आकृति विवरण प्राप्त गर्न तथा विश्लेषण गर्न लाइडार प्रविधिको प्रयोग हुने गरेको प्रविधि महाशाखा प्रमुख अशोक श्रेष्ठले बताए । 

“सहरी योजना, नक्साङ्कन, पूर्वाधार निर्माण, वातावरण तथा सम्पदा क्षेत्रको निगरानी र व्यवस्थापन, विपद् व्यवस्थापन, स्मार्ट सिटीको विकास जस्ता कामका लागि महानगरपालिकाले प्रविधि प्रयोगमा ल्याउन सक्ने सम्भावना छ,” श्रेष्ठले भने ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै जियोमेटिक्स इन्जिनियर कविराज रोकायाले यो प्रविधिबाट दुई सेन्टिमिटरसम्मका वस्तुहरुको स्पष्ट नक्साङ्कन र नाप गर्न सकिने बताए । 

“संरचना, अवस्थिति, वस्तु र अवस्थामा आएको परिवर्तनलाई टाइमसिरिज चेन्जेजबाट तुलना देखाउन सकिन्छ । सम्पदा निर्माण गर्ने व्यक्ति सकिँदै गएका छन् । सहरी विकास, सम्पदाको उपयोग, मौसम जस्ता कारण सम्पदा पनि परिवर्तन भएका छन् । यसबेला सम्पदाको अद्यावधिक अवस्थालाई नापसहितको अभिलेखन गर्न आवश्यक छ । यसका लागि लाइडार प्रविधि उपयुक्त हुन सक्छ,” रोकायाले भने । 

त्यसक्रममा महानगरपालिकाको सभा कक्ष, कीर्तिपुरको तिलञ्चो स्तुप, माइतीघर मण्डला चोक, बालाजु बाइसधारा उद्यानलगायत स्थानमा गरिएको थ्रीडी स्क्यान र त्यसबाट निर्माण भएको डिजिटल सामग्री प्रदर्शन गरिएको थियो ।

यो प्रविधि इनडोर म्यापिङ (भवन भित्रका संरचना, कोठा र सुविधाहरु), सांस्कृतिक सम्पदा (उचाइ, गोलाइ, निर्माण सामग्रीको नाप, एक वस्तुदेखि अर्को वस्तुसम्मको दूरी), पूर्वाधार (सडक, ओभरपास, पार्क, भवनको डिजिटल निगरानी, आपतकालीन व्यवस्थापन आदि) र सहरी विकास योजनामा चाप भएका क्षेत्रहरूको नक्साङ्कन, दीर्घकालीन योजना निर्माणका लागि तथ्याङ्क उत्पादनका लागि बढी उपयोगी हुने विज्ञहरूको भनाइ छ ।

यो प्रविधि अमेरिका, जापान, दक्षिण कोरिया, युरोपेली मुलुकलगायत विकसित देशमा प्रयोग हुँदै आएको छ। स्थानीयस्तरमा वन, भू-उपयोगलगायतका क्षेत्रको सर्वेक्षण र नक्साङ्कनका यसको प्रयोग धेरै भएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ १२:९