close

नेदरल्यान्ड्समा नेपालको कर्मचारी सञ्चय कोष बन्यो ‘एक्सिलेन्स एन्ड इनोभेसन अवार्ड’ को रनर अप

टेकपाना टेकपाना

मंसिर १६, २०८२ ११:१६

नेदरल्यान्ड्समा नेपालको कर्मचारी सञ्चय कोष बन्यो ‘एक्सिलेन्स एन्ड इनोभेसन अवार्ड’ को रनर अप

काठमाडौँ । कर्मचारी सञ्चय कोषले नेदरल्यान्ड्सको द हेगमा आयोजित ‘वर्ल्ड पेन्सन समिट २०२५’ मा प्रतिष्ठित ‘एक्सिलेन्स एन्ड इनोभेसन अवार्ड’ तर्फ रनर अपको उपाधि हासिल गरेको छ । गत ४ देखि ६ नोभेम्बरसम्म सञ्चालित उक्त सम्मेलनमा कोषको पेन्सन डिजाइन तथा पुनःसंरचनामा गरिएको सुधारको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो ।

कोषका चिफ म्यानेजर दर्शन भट्टराईका अनुसार साविकको निवृत्तभरण प्रणालीलाई विस्थापित गर्दै तत्पश्चात् नियुक्त नयाँ कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्तभरण प्रणालीको व्यवस्था लागु गरिएको थियो । सोही नयाँ प्रणालीको डिजाइन तथा यसको आन्तरिक र प्राविधिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै कोषलाई यो अवार्डले सम्मान दिइएको उनले बताए ।

सम्मेलनमा ‘राइजिङ स्टार २०२५’ र ‘एक्सिलेन्स एन्ड इनोभेसन अवार्ड’ गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो । भट्टराईका अनुसार यो अवार्डका लागि नेपालसहित १६ देशले आवेदन दिएका थिए । विश्वका विभिन्न मुलुकका पेन्सन कोषहरूबिचको प्रतिस्पर्धामा नेपालको प्राविधिक व्यवस्थापन पक्ष उत्कृष्ट ठहरिएपछि कोष रनर अप बन्न सफल भएको हो ।

 

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८२ १८:५७