close

एलन मस्कको करोडौंको जागिर अफर अस्वीकार गर्ने २ जेन-जी, बनाउँदैछन् आफ्नै ‘सुपर इन्टेलिजेन्स’

टेकपाना टेकपाना

मंसिर १६, २०८२ १३:३४

एलन मस्कको करोडौंको जागिर अफर अस्वीकार गर्ने २ जेन-जी, बनाउँदैछन् आफ्नै ‘सुपर इन्टेलिजेन्स’

काठमाडौँ । दुई वर्षअघि बेइजिङस्थित सिङ्ह्वा विश्वविद्यालयको ब्रेन ल्याबमा बसेका विलियम चेन र ग्वान वाङ आफ्नो जीवनको सबैभन्दा ठुलो निर्णयको संघारमा थिए । उमेर मात्र २२ कटेका उनीहरूको अगाडि एलन मस्कको नयाँ कम्पनी एक्सएआईबाट आएको करोडौं डलरको आकर्षक जागिर अफर थियो । 

तर, उनीहरूले एकै क्षणमा सोचे र त्यो प्रस्ताव अस्वीकार गरे । मस्कको अफर लिनुको सट्टा यी दुई युवाले एउटा जोखिमपूर्ण, तर महत्वाकांक्षी बाटो रोजे । उनीहरूको लक्ष्य ‘हालका एआई मोडेल भन्दा शक्तिशाली र मानव मस्तिष्क जस्तै सोच्न सक्ने नयाँ प्रविधिको विकास गर्नु’ थियो । आफ्नै लक्ष्यका पछाडि दौडिरहेका यी जेन-जीले अर्बपति उद्यमी एलन मस्कबाट आएको महँगो प्रस्ताव लत्याइदिए ।

‘ओपन च्याट’ को सफलता र मस्कको नजर
अमेरिकाको मिसिगनमा हाइस्कुल पढ्दा साथी बनेका चेन र वाङले सिङ्ह्वा विश्वविद्यालयमा रहँदा ‘ओपनच्याट’ (OpenChat) नामक एक लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) बनाएका थिए । त्यस समयमा अधिकांश कम्पनीले इन्टरनेटबाट थुप्रै डेटा सङ्कलन गरेर एआईलाई तालिम दिइरहेका थिए । तर, यी दुईले थोरै तर उच्च गुणस्तरको डेटा र ‘रिइन्फोर्समेन्ट लर्निङ’ अर्थात् मानिस वा जनावरले गल्ती र पुरस्कारबाट सिकेझैं सिक्ने विधि प्रयोग गरेर मोडेल तयार पारे । त्यसबखत लार्ज ल्याङ्ग्वेज मोडेलमा यस्तो परीक्षण कसैले गरिरहेको थिएन । चिनियाँ एआई कम्पनी डिपसिकले भने यस मोडेलका उपयोगिता अन्वेषण गरिरहेको थियो । त्यहीबेला सिलिकन भ्यालीमा डिपसिकले तुफान ल्याएको थियो । 

यता चेन र वाङले रहरै-रहरमा यसलाई ओपन-सोर्स गरे । हेर्दाहेर्दै यो प्रविधि भाइरल नै भयो । स्ट्यानफोर्ड र बेर्कलीले जस्ता प्रतिष्ठित विश्वविद्यालयका अनुसन्धानकर्ताले यसको प्रशंसा गरे । उनीहरूको यही सफलताले एलन मस्कको ध्यान तान्यो र उनीहरूलाई आफ्नो टिममा सहभागी हुनुपर्‍यो भन्दै करोडौं डलरको अफरसहित मस्कको टिमले ईमेल पठायो । यो यस्तो अफर थियो, जसलाई प्रविधि क्षेत्रमा अस्वीकार गर्ने व्यक्ति विरलै भेटिन्थ्यो । चेनको नजरमा यो यस्तो अफर जो जसलाई प्रविधि क्षेत्रमा लागेका जोकोहीले सपनाका रूपमा लिएका हुन्छन् । 

किन गरे अफर अस्वीकार अनि कसरी बढ्दैछन् अगाडि ?
“अहिलेका लार्ज ल्याङ्ग्वेज मोडेलका निश्चित सीमा छन् भन्ने हामीले महसुस गर्‍यौं,” चेनले फर्च्युन म्यागजिनलाई भने, “हामी एउटा यस्तो नयाँ आर्किटेक्चर चाहन्थ्यौं जसले मसिन लर्निङका संरचनात्मक अवरोधलाई तोड्न सकोस् ।”

त्यसैले जागिरको सट्टा उनीहरूले ‘सेपियन्ट इन्टेलिजेन्स’ स्थापना गरे । उनीहरूको मुख्य लक्ष्य ‘एजीआई’ (आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स) हासिल गर्नु हो, जसलाई एआई अनुसन्धानको ‘होली ग्रे’ मानिन्छ । यसको अर्थ यस्तो मसिन बनाउनु हो, जसको इन्टेलिजेन्स कुनै पनि काममा मानिसको भन्दा बढी वा बराबर होस् ।

हालसालै चेन र वाङले विकास गरेको नयाँ मोडेल ‘हाइरार्किकल रिजनिङ मोडेल’ को नतिजा देखेर उनीहरू आफैं छक्क परे । जम्मा २ करोड ७० लाख प्यारामिटर (जीपीटी-४ को तुलनामा अति नै सानो) भएको उनीहरूको मोडेलले तार्किक क्षमता (रिजनिङ क्यापासिटी) मा विश्वका ठुला कम्पनी ओपनएआई, एन्थ्रोपिक र डिपसिकका मोडेललाई पछि पारेको थियो । चेनका अनुसार हालका एआई मोडेलले तथ्याङ्कका आधारमा अर्को शब्द अनुमान मात्र गर्छन् । तर उनीहरूको मोडेलले मानिसले जस्तै योजना बनाउँछ र सोच्छ ।

चेन र वाङको भेट अमेरिकाको मिसिगनस्थित हाइस्कुलमा भएको थियो । पहिलो भेटमै उनीहरूले जीवनको ‘मेटागोल्स’ (परम लक्ष्य) बारे छलफल गरेका थिए । वाङको लक्ष्य ‘एजीआई’ बनाउनु थियो भने चेनको लक्ष्य इन्जिनियरिङ प्रणालीलाई अप्टिमाइज गर्नु थियो ।

अमेरिकी प्रतिष्ठित कलेज (कार्नेगी मेलन र जर्जिया टेक) मा भर्ना पाए पनि चेनले आफ्ना साथी वाङलाई पछ्याउँदै चीनको ‘एमआईटी’ मानिने सिङ्ह्वा विश्वविद्यालय रोजेका थिए । त्यहाँको पढाइ गाह्रो भए पनि प्राध्यापकको सहयोगले उनीहरूले आफ्नो अनुसन्धान अघि बढाए ।

अब ‘सेपियन्ट इन्टेलिजेन्स’ ले अमेरिकामा कार्यालय खोल्ने तयारी गरिरहेको छ । चेन र वाङ आगामी एक दशकभित्र एजीआईको विकास हुनेमा विश्वस्त छन् । “एक दिन हामीसँग मानिसभन्दा चलाख एआई हुनेछ,” चेन भन्छन्, “वाङ र म सधैं के भन्ने गर्छौं भने यो पान्डोराको बाकस जस्तै हो । यदि हामीले बनाएनौं भने अरू कसैले बनाउनेछ । त्यसैले यो काम गर्ने पहिलो व्यक्ति हामी नै बनौं भन्ने चाहन्छौं ।”

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८२ १३:५१