close

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार, छुट्टै कार्ड नचाहिने

टेकपाना टेकपाना

मंसिर १६, २०८२ १९:१९

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार, छुट्टै कार्ड नचाहिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय भुक्तानी सेवालाई विस्तार गर्दै मुलुकभरका २७ शाखाबाट उपलब्ध गराउने भएको छ । यसअघि बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरा शाखामा मात्र सीमित रहेको यो सेवा अब काठमाडौँ उपत्यकाका १७ र उपत्यकाबाहिरका १० गरी कुल २७ शाखामा विस्तार गरिएको बैंकले जनाएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाँइका अनुसार डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ र सहज बनाउने उद्देश्यले सेवा विस्तार गरिएको हो ।

नयाँ व्यवस्थासँगै अब ग्राहकले काठमाडौँ उपत्यकाभित्र तीनधारा, पुतलीसडक, महाराजगञ्जका अलावा भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, बिजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी र जोरपाटी शाखाबाट यो सेवा लिन सक्नेछन् । त्यस्तै, उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयहरूमा पनि यो सुविधा उपलब्ध हुनेछ ।

छुट्टै अन्तर्राष्ट्रिय कार्ड बोक्नुनपर्ने नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले भिसा आवेदन शुल्क, विदेशी विश्वविद्यालय वा कलेजको शुल्क, बीमा तथा एसीसीएको भुक्तानीका साथै शैक्षिक र व्यापारिक सम्मेलनहरूको शुल्क सुरक्षित रूपमा तिर्न सक्ने बैंकले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८२ १९:१९