नेपालमा कानुनी प्रविधि र एआई शिक्षा प्रवर्द्धन गर्न सनवे कलेज र कानुन एआईबिच ३ वर्षे साझेदारी
मंसिर १७, २०८२ २२:४८
काठमाडौँ । नेपालको कानुनी प्रविधि (लिगल-टेक) क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास, अनुसन्धान र प्रयोगलाई व्यवस्थित बनाउन सनवे कलेज काठमाडौँ र कानुन एआई प्रालिबिच तीन वर्षे रणनीतिक साझेदारी भएको छ ।
मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच सनवे कलेजका निर्देशक खुशल रेग्मी र कानुन एआईका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) प्राञ्जल तिम्सिनाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे । यसअन्तर्गत प्राज्ञिक र औद्योगिक क्षेत्रबिचको सहकार्यमार्फत जिम्मेवार एआई नवप्रवर्तनलाई अघि बढाउने लक्ष्य लिइएको छ ।
सम्झौता अनुसार दुवै संस्थाले मिलेर ‘आर्टिफिसियल इन्टेलिजेन्स र नैतिकता’ सम्बन्धी पाठ्यक्रम विकास गर्नेछन् । यसअन्तर्गत एआईका आधारभूत सिद्धान्त, निष्पक्षता, सुशासन र कानुनी प्रविधिमा यसको व्यावहारिक प्रयोगबारे अध्यापन गराइनेछ ।
अनुसन्धान तथा विकासका क्षेत्रमा नेपालको न्यायपालिकालाई सघाउ पुर्याउने उद्देश्यले ‘नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ’ (एनएलपी), एआईमा आधारित मुद्दा व्यवस्थापन प्रणाली र न्यायिक सहयोगका लागि ‘प्रेडिक्टिभ एनालिटिक्स’ जस्ता प्रविधिको विकासमा सहकार्य हुने जनाइएको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै सनवे कलेजका निर्देशक रेग्मीले भने, “यो साझेदारीले प्राज्ञिक उत्कृष्टतालाई औद्योगिक नवप्रवर्तनसँग जोड्नेछ र हाम्रा विद्यार्थीहरूलाई एआई-निर्देशित भविष्यका लागि तयार पार्न मद्दत गर्नेछ ।”
त्यस्तै, कानुन एआईका सीटीओ तिम्सिनाले यस सहकार्यले कानुनी प्रविधिमा एआईको प्रयोग बढाउनुका साथै यसको नैतिक विकास सुनिश्चित गर्न एक सशक्त मञ्च सिर्जना गरेको बताए । उनले भने, “हामी सँगै मिलेर एआई सुशासन र न्यायमा पहुँचसम्बन्धी बहसमा योगदान पुर्याउने छौँ ।”
साझेदारीको कार्यान्वयन अनुगमन गर्न त्रैमासिक रूपमा बस्ने संयुक्त समन्वय समिति गठन गरिनेछ । सनवेले प्राज्ञिक विज्ञता र अनुसन्धान पूर्वाधार उपलब्ध गराउने छ भने कानुन एआईले प्राविधिक विज्ञता र एआई प्लेटफर्महरूमा पहुँच प्रदान गर्ने सम्झौतामा उल्लेख छ । साथै, दुवै संस्थाले एआई नीतिगत अनुसन्धान र जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्नेछन् ।
पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ २२:४८
