एलन मस्क, जुकरबर्ग र बेजोसको अनुहार भएका रोबट कुकुरहरूको किन भइरहेको छ चर्चा ?
मंसिर १९, २०८२ १५:२५
काठमाडौँ । अमेरिकाको मायामीमा हुँदै आएको विश्वकै प्रतिष्ठित कला मेला ‘आर्ट बसेल’को प्रदर्शनी स्थलमा यसपटक एउटा अनौठो र चकित पार्ने दृश्य देखियो । भुइँमा यताउति दौडिरहेका रोबट कुकुरको हुल थियो । तर तिनीहरूको अनुहार भने प्रविधि क्षेत्रका अर्बपति र विश्वप्रसिद्ध कलाकारका जस्ता थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनका अनुसार ‘बिपल’ नामबाट परिचित डिजिटल आर्टिस्ट माइक विङ्केलम्यानले आफ्नो नयाँ प्रोजेक्ट ‘रेगुलर एनिमल्स’ अन्तर्गत यी रोबट प्रदर्शन गरेका हुन् । यी चारखुट्टे रोबटमा एलन मस्क, मार्क जुकरबर्ग, जेफ बेजोसजस्ता प्रविधि क्षेत्रका अर्बपतिका साथै एन्डी वारहोल, पाब्लो पिकासो र स्वयं कलाकार बिपलको हाइपर-रियलिस्टिक सिलिकन अनुहार जडान गरिएको छ ।
प्रदर्शनीका क्रममा एलन मस्कको अनुहार भएको रोबट ओठ टोक्दै घुमिरहेको थियो भने जुकरबर्ग र वारहोल झण्डै ठोक्किएका थिए । अलि पर पिकासोको अनुहार भएको रोबट सुस्ताइरहेको देखिन्थ्यो । सबैभन्दा रोचक कुरा त के थियो भने यी रोबट बेलाबेलामा रोकिन्थे, पछाडि ढल्किन्थे र आफ्नो पछाडिको भागबाट कलाकृति ‘दिसा’ गरे जस्तै गरी बाहिर निकाल्थे । यस क्रममा तिनीहरूको ढाडमा रहेको स्क्रिनमा ‘पुप मोड’ लेखिएको देखिन्थ्यो । यी रोबटले निकालेका ती प्रिन्ट वास्तवमा एनएफटी कलाकृति हुन् ।
कलाकार बिपलका अनुसार यो प्रदर्शनीले प्रविधि र भविष्यप्रतिको हाम्रो डर र वास्तविकतालाई दर्साउँछ । उनले सीएनएनलाई भने, “हामी भविष्यका लागि तयार छैनौं ।”
बिपलले यी रोबटले संसारलाई कसरी हेर्छन् भन्ने कुरा पनि व्याख्या गरे । प्रत्येक रोबटले आफ्नो क्यामेराबाट तस्बिर खिच्छ र त्यसलाई आफ्नो पात्रको शैलीमा एआई प्रयोग गरी पुनः व्याख्या गर्छ । जस्तै वारहोलको रोबटले वारहोलकै शैलीमा र पिकासोको रोबटले पिकासोकै कलात्मक दृष्टिले संसारलाई चित्रमा उतार्छ ।
“पहिले-पहिले हामी संसारलाई कलाकारको नजरबाट व्याख्या गरिएको रूपमा देख्थ्यौं । तर अहिले मार्क जुकरबर्ग र एलनले हामीले संसारलाई कसरी हेर्छौं भन्ने कुराको ठुलो हिस्सा नियन्त्रण गर्छन्,” उनले पेज सिक्सलाई भने, “हामी संसारलाई उनीहरूकै आँखाबाट देख्छौं । किनभने हामीले के देख्ने भन्ने निर्णय गर्ने अत्यन्त शक्तिशाली एल्गोरिदम उनीहरूकै नियन्त्रणमा छन् । त्यसैले हामी त्यो विचारलाई केही हदसम्म प्रयोग गर्न चाहन्थ्यौं ।”
बेजोसको रोबटले कुनै पनि प्रिन्ट निकाल्दैन । उनले बजोस रोबट डगका बारेमा भने, “तर, उनी अर्का त्यस्ता व्यक्ति हुन् जसले हाम्रो संसार हेर्ने दृष्टिकोणलाई आकार दिन्छन् । उनी यो कलाकृतिमा हुनु आवश्यक थियो ।” यी सबै रोबो डग एक लाख डलरमा एक व्यक्तिले खरिद गरिसकेका छन् । बिक्री भइसकेपछि त्यसको सन्देश दिन रोबो डगलाई प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीको पहिलो दिन यो ‘रेगुलर एनिमल्स’ सेक्सनमा दर्शकको भिड लागेको थियो । धेरैले यसलाई ‘घिनलाग्दो’ र ‘डरलाग्दो’ भने भने कतिपयले यसलाई ‘बौद्धिक’ र ‘शानदार’को संज्ञा दिंदै प्रशंसा गरे ।
एउटा अनौठो संयोग के भयो भने मेलामा आएका दुई वास्तविक कुकुरले यी रोबटलाई देखेपछि भुक्न थालेका थिए ।
सन् २०२१ मा ६९.३ मिलियन डलरमा डिजिटल कला बेचेर चर्चामा आएका बिपलले एनएफटी बजारको उतारचढावका बीच पनि डिजिटल कलामा नयाँ प्रयोग गरिरहेका छन् । मेला सुरु भएको पहिलो घण्टामै यी सबै ‘रोबट कुकुर’ बिक्री भइसकेका थिए । यी रोबटले तीन वर्षसम्म तस्बिर खिच्ने र ब्लकचेनमा राख्ने काम गर्नेछन् । त्यसपछि यो काम बन्द हुनेछ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
पछिल्लो अध्यावधिक: मंसिर १९, २०८२ १६:२८
