ह्याक भएका फेसबुक र इन्स्टाग्राम अकाउन्ट सजिलै फिर्ता दिने सुविधा ल्याउँदै मेटा
मंसिर १९, २०८२ १८:३१
काठमाडौँ । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले आफ्ना प्रयोगकर्ताका लागि नयाँ र एकीकृत ‘सपोर्ट हब’ सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई समस्या पर्दा सहयोग पाउन सधैं सजिलो नभएको यथार्थलाई स्वीकार गर्दै कम्पनीले बिहीबार यो नयाँ फिचरको घोषणा गरेको हो ।
यो सपोर्ट हबले फेसबुक र इन्स्टाग्राम दुवै नेटवर्कका प्रयोगकर्तालाई अकाउन्टमा देखिएका समस्या रिपोर्ट गर्न वा एक्सेस गुमेको (ह्याक भएको वा पासवर्ड बिर्सेको) अकाउन्ट रिकभर गर्न आवश्यक पर्ने सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउनेछ ।
‘‘आफ्नो अकाउन्ट सम्बन्धी समस्यामा सहयोग पाउनु सरल र सबैको पहुँचमा हुनुपर्छ,’’ कम्पनीले विज्ञप्तिमा भनेको छ । विगतमा आफ्नो सपोर्ट सिस्टमले प्रयोगकर्ताको अपेक्षा सधैं पूरा गर्न नसकेको स्वीकार गर्दै मेटाले अब यो अपडेटमार्फत सुधारको प्रयास गरेको जनाएको छ ।
यो नयाँ फिचर आईओएस र एन्ड्रोइड दुवैमा विश्वभरका प्रयोगकर्ताका लागि क्रमशः रोलआउट भइरहेको छ । अकाउन्ट रिकभर गर्नका लागि यहाँ क्लिक गरेर अन्य प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।
त्यस्तै मेटाको सिस्टमले तपाईंले बारम्बार लगइन गरिरहेको डिभाइस प्रभावकारी रूपमा पहिचान गर्नेछ । यसले गर्दा तपाईंको अकाउन्ट ह्याक भएको छ भने त्यही डिभाइसबाट लगइनको प्रयास गर्दा अकाउन्ट रिकभर हुने सम्भावना पहिलेको तुलनामा बढी हुने कम्पनीले उल्लेख गरेको छ । प्रयोगकर्ताको पहिचान भेरिफिकेसनका लागि सेल्फी भिडिओ पठाउन सकिने सुविधालाई पनि मेटाले सुधारेको दाबी गरेको छ ।
मेटाले प्रयोगकर्तालाई ‘तत्काल’ सहयोग उपलब्ध गराउन एआई असिस्टेन्टमा पनि काम गरिरहेको जनाएको छ । यसले अकाउन्ट रिकभर गर्ने वा सेटिङ अपडेट गर्ने जस्ता काममा सहयोग गर्ने बताइएको छ ।
सुरुवाती चरणमा यो फिचर फेसबुक प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ भने भविष्यमा यसलाई अन्य एपमा पनि विस्तार गर्ने योजना रहेको मेटाले बताएको छ ।
यो सपोर्ट हब फेसबुक वा इन्स्टाग्राम एप भित्रैबाट प्रयोग गर्न सकिनेछ । यदि कोही प्रयोगकर्ता एपमै लग-इन गर्न नसकेको अवस्थामा यो फिचर कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न पनि उब्जिएको छ । यद्यपि मेटाले अकाउन्ट रिकभरी प्रक्रियालाई सुधार गरिरहेको बताएको छ । यसका लागि एआईको प्रयोग गरेर सही रिकभरी अप्सन खोज्न सजिलो बनाउने र प्रयोगकर्ताले विगतमा एप चलाएका डिभाइस तथा लोकेसन पहिचान गर्न कम्पनीले थप मद्दत गर्नेछ ।
पछिल्लो अध्यावधिक: मंसिर १९, २०८२ १९:४
