close

सुर्खेतमा पुन: सुरु भयो ड्राइभिङ लाइसेन्सको ट्रायल सेवा, परीक्षार्थी पहिचान गर्न बायोमेट्रिक भेरिफिकेसन

टेकपाना टेकपाना

मंसिर १९, २०८२ १९:५०

सुर्खेतमा पुन: सुरु भयो ड्राइभिङ लाइसेन्सको ट्रायल सेवा, परीक्षार्थी पहिचान गर्न बायोमेट्रिक भेरिफिकेसन

काठमाडौँ । सुर्खेतमा विगत डेढ वर्षदेखि ठप्प रहेको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल परीक्षा पुनः सञ्चालनमा आएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतले गत मङ्गलबारदेखि यो सेवा पुन: सुरु गरेको हो । 

यसपटकको ट्रायल परीक्षामा नक्कली परीक्षार्थीको चलखेल रोक्न विशेष प्रणालीको प्रयोग गरिएको छ । यसले गर्दा सेवाग्राहीले लाइसेन्स परीक्षा दिँदा आफ्नो वास्तविक परिचय खुल्ने बायोमेट्रिक विधि पार गर्नुपर्नेछ ।

कार्यालयका प्रमुख मुकुन्दनाथ योगीका अनुसार ट्रायल सेन्टर छनौटको विवाद अदालत पुगेपछि करिब डेढ वर्षदेखि रोकिएको परीक्षा सेवाग्राहीको दबाब र आवश्यकतालाई हेरेर पुनः सुरु गरिएको हो ।

कार्यालयले पहिलो चरणमा २०० कोटा निर्धारण गरेर आवेदन माग गरेको थियो । यसमा लिखित परीक्षामा १२० जना उत्तीर्ण भएका थिए । तीमध्ये ट्रायल परीक्षामा सहभागी १०९ मध्ये ४९ जनाले सफलता हासिल गरेका छन् ।

प्रमुख योगीले टेकपानासँग भने, “विगतमा अर्काको नाममा परीक्षा दिने र आर्थिक चलखेल हुने गुनासा धेरै आउने गरेका थिए । त्यसलाई निरुत्साहित गर्न र परीक्षालाई मर्यादित बनाउन हामीले कार्यालयको क्षेत्राधिकार भित्र रहेर बायोमेट्रिक सिस्टम लागु गरेका हौँ ।”

उनका अनुसार यो प्रविधि लागु भएपछि ट्रायल सेन्टरको प्रवेशद्वारमै परीक्षार्थीको फिङ्गरप्रिन्ट स्क्यान गरिन्छ । आवेदन भर्दाको विवरणसँग मेल खाए मात्र भित्र प्रवेश गर्न दिइन्छ ।

यो नयाँ प्रविधि बिजनेस अनलाइन सर्भिस प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क रूपमा उपलब्ध गराएको हो । कम्पनीका संस्थापक पवन पौडेलका अनुसार यो सिस्टमले संवेदनशील डेटा (जस्तै नागरिकता नम्बर, जन्ममिति) भण्डारण नगरी केवल परीक्षार्थीको फोटो र फिङ्गरप्रिन्टको आधारमा परिचय प्रमाणीकरण गर्छ ।

“हामीले बनाएको सिस्टमले बाइनरी फर्म्याटमा डेटा राख्छ र स्थानीय सर्भरमा नै भेरिफाई गर्छ । यसले गर्दा डेटा बाहिरिने वा दुरुपयोग हुने जोखिम हुँदैन,” संस्थापकले पौडेलले भने । परीक्षणको रूपमा सुरु भएको यस प्रणालीले नक्कली परीक्षार्थीको घुसपैठलाई पूर्ण रूपमा रोक्ने विश्वास लिइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८२ १९:५०