रोनाल्डोको लगानी रहेको एआई कम्पनी पर्प्लेक्सिटीविरुद्ध न्युयोर्क टाइम्सले हाल्यो मुद्दा
मंसिर २०, २०८२ १५:१३
काठमाडौँ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको समेत लगानी रहेको एआई स्टार्टअप 'पर्प्लेक्सिटी' विरुद्ध अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले मुद्दा दायर गरेको छ । प्रतिलिपि अधिकार उल्लङ्घनको आरोप लगाउँदै न्यू योर्कको संघीय अदालतमा टाइम्सले शुक्रबार मुद्दा हालेको हो ।
न्युयोर्क टाइम्सले कुनै एआई कम्पनीविरुद्ध मुद्दा दायर गरेको यो दोस्रो घटना हो । यसअघि टाइम्सले च्याटजीपीटी निर्माता ओपनएआई र माइक्रोसफ्टविरुद्ध पनि यस्तै मुद्दा हालेको थियो । न्युयोर्क टाइम्ससँगै सिकागो ट्रिब्युन र न्युज कर्प जस्ता अन्य ठुला सञ्चारमाध्यमले पनि पर्प्लेक्सिटीविरुद्ध कानुनी कदम चालेका छन् ।
पर्प्लेक्सिटी एआईयुक्त सर्च इन्जिन प्लेटफर्म हो । टाइम्सले अदालतमा पेस गरेको दाबी अनुसार पर्प्लेक्सिटीले अनुमति वा कुनै भुक्तानी बिना नै टाइम्सका सामग्री प्रयोग गरेर आफ्ना प्रयोगकर्तालाई जानकारी दिने गरेको छ । पर्प्लेक्सिटीलाई विगत १८ महिनादेखि बारम्बार सम्पर्क गरे पनि अटेरी भएपछि अन्ततः मुद्दा हाल्नुपरेको उसले जनाएको छ ।
पर्प्लेक्सिटीले बारम्बार प्रतिलिपि अधिकार उलङ्घन गर्दा यसले गर्दा आफ्नो मौलिक पत्रकारिता र व्यवसायमा गम्भीर असर परेको टाइम्सको दाबी छ । पर्प्लेक्सिटीले ‘रिट्रिभल अगमेन्टेड जेनेरेसन’ प्रविधिमार्फत टाइम्सको वेबसाइट र डेटाबेसबाट सूचना तानेर प्रयोगकर्तालाई हुबहु वा सारांशका रूपमा जवाफ दिने गरेको उसको आरोप छ ।
टाइम्सका प्रवक्ता ग्राहम जेम्सका अनुसार पर्प्लेक्सिटीको यस प्रविधिले टाइम्सको ‘पेवाल’ (सशुल्क ग्राहकका लागि मात्र उपलब्ध सामग्री) भित्र रहेका समाचारलाई चोरी गरी एआई प्रयोगकर्तालाई रियल टाइममा निःशुल्क उपलब्ध गराउने काम गरेको छ । साथै एआईले कहिलेकाहीँ गलत सूचना दिने र त्यसको स्रोत न्युयोर्क टाइम्स भएको भनी गलत श्रेय दिँदा आफ्नो ब्रान्डको प्रतिष्ठामा समेत आँच आएको टाइम्सको जिकिर छ ।
पर्प्लेक्सिटीले प्रकाशकसँग आम्दानी बाँडफाँड गर्ने ‘पब्लिसर्स प्रोग्राम’ ल्याएको र टाइम, फर्च्युन जस्ता केही मिडियासँग सहकार्य गरिरहेको भए पनि न्युयोर्क टाइम्सले भने आफ्नो सामग्रीको अनधिकृत प्रयोगलाई स्वीकार गर्न नसकिने जनाएको छ । यस विषयमा प्रतिक्रिया दिँदै पर्प्लेक्सिटीका सञ्चार प्रमुख जेसी ड्वायेरले विगत सय वर्षदेखि प्रकाशकले रेडियो, टिभी, इन्टरनेट र अहिले एआई जस्ता नयाँ प्रविधि आउँदा सधैं मुद्दा हाल्ने गरेको, तर त्यो कहिल्यै सफल नभएको तर्क गरेका छन् ।
यद्यपि न्युयोर्क टाइम्सले अमेजनसँग एआई मोडेललाई तालिम दिनका लागि कानुनी सम्झौता गरिसकेको छ । तर, अनुमतिबिना सामग्री प्रयोग गर्ने कम्पनीलाई कानुनी दायरामा ल्याउने रणनीति भने जारी राखेको छ । टाइम्सले अदालत समक्ष पर्प्लेक्सिटीले पुर्याएको क्षतिको क्षतिपूर्ति भराउन र आफ्ना सामग्रीको प्रयोगमा तत्काल रोक लगाउन माग गरेको छ ।
रोनाल्डोले बिहीबार मात्र पर्प्लेक्सिटीमा आफ्नो लगानीको घोषणा गरेका थिए । त्यस लगतै रोनाल्डोले यस प्लेटफर्मको व्यापक चर्चा गरिरहेका छन् । यद्यपि उनले कति लगानी गरेका हुन् (वा, प्रचार गरे बापत शेयर पाउने भएका हुन्) भन्ने स्पष्ट भइसकेको छैन ।
पछिल्लो अध्यावधिक: मंसिर २०, २०८२ १५:१३
