एनपीएलको माहोलमा अनलाइन जुवा खेलाउने भन्दै ठग्नेहरू छ्यापछ्याप्ती, सचेत रहन प्रहरीको आग्रह
मंसिर २०, २०८२ १७:५७
सांकेतिक तस्बिर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को माहोल तातिरहेका बेला अनलाइन सट्टेबाजीमार्फत ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै सट्टेबाजीमा आकर्षित गर्ने र रकम ठगी गर्ने क्रम बढेपछि प्रहरीले विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।
विभिन्न गिरोहले सामाजिक सञ्जालमार्फत रकम दोब्बर हुने, जितेको पैसा तुरुन्त पाइने र खेल जिताउन ‘भित्रकै मान्छेको सेटिङ’ रहेको भन्दै झूटा प्रलोभन देखाएर रकम सङ्कलन गर्ने गरेको पाइएको छ ।
प्रहरीका अनुसार यस्ता ठगहरूले सुरुमा सर्वसाधारणको विश्वास जित्न सानो रकम फिर्ता दिने गर्छन् । तर, पछि ठुलो रकम हात पारेपछि भने सामाजिक सञ्जालमा ब्लक गर्ने, आफ्नो आईडी बन्द गर्ने तथा डिजिटल वालेट नै ह्याक गरेर ठगी गर्ने गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले अनलाइन सट्टेबाजी पूर्ण रूपमा गैरकानुनी र जोखिमपूर्ण रहेको बताए ।
उनले भने, “सामाजिक सञ्जालमार्फत अनलाइन सट्टेबाजीमा जोड्ने प्रलोभन देखाई धेरै नागरिकलाई ठगी गर्ने घटना बढिरहेका छन् । यसमा संलग्न हुँदा व्यक्तिगत विवरण चोरी हुने, बैंक तथा वित्तीय खाताबाट रकम अनधिकृत रूपमा निकासी हुने तथा ठुलो आर्थिक क्षति भोग्नुपर्ने जोखिम अत्यधिक हुन्छ । त्यसैले सबैलाई सचेत रहन अनुरोध गर्दछौँ ।”
नेपालको कानुनअनुसार अनलाइन सट्टेबाजी, जुवातास तथा यससम्बन्धी सबै गतिविधि निषेधित छन् । मुलुकी अपराध संहिता २०७४ ले जुवातास सञ्चालन गर्ने, सहभागी हुने वा प्रोत्साहन गर्नेलाई जरिवाना र कैद सजायको व्यवस्था गरेको छ ।
त्यस्तै, अनलाइनमार्फत हुने यस्ता अवैध गतिविधि गर्नेलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत र डिजिटल वालेट वा बैंकमार्फत अवैध रकम लेनदेन गरेमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत कडा कारबाही हुने कानुनी व्यवस्था रहेको प्रहरीले स्मरण गराएको छ ।
प्रहरीले यस्ता अवैध गतिविधि कतै देखेमा वा कसैले सट्टेबाजीका लागि प्रलोभन देखाएमा तत्काल नजिकको प्रहरी कार्यालय, साइबर ब्युरो वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ ८:३८
