७५० रुपैयाँसम्म क्यासब्याक सहित सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
मंसिर २१, २०८२ १३:२३
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा 'सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड' सञ्चालनमा ल्याएको छ । आफ्ना विद्युतीय सेवालाई थप सुदृढ र ग्राहकमैत्री बनाउने उद्देश्यसहित जारी नेपाल प्रिमियर लिगको अवसर पारेर बैंकले यो कार्ड सार्वजनिक गरेको हो ।
यो भर्चुअल कार्ड सञ्चालनमा आएपछि ग्राहकले अब भौतिक (प्लास्टिक) कार्ड बोक्नुपर्ने बाध्यता हटेको छ । ग्राहकले यो कार्डमार्फत १८ लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा मोबाइलबाटै स्क्यान गरी छिटो र सुरक्षित भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकले 'बैंकस्मार्ट एक्सपी' (BankSmartXP) मोबाइल एपमार्फत नै कार्डका लागि आवेदन दिन, प्राप्त गर्न र तुरुन्तै सक्रिय गर्न सक्नेछन् । साथै, एपमार्फत नै कारोबारको सीमा व्यवस्थापन, कार्ड लक वा अनलक गर्ने तथा स्टेटमेन्ट हेर्ने जस्ता सुविधा चौबिसै घण्टा उपलब्ध हुनेछ ।
कार्ड सार्वजनिक गरिएको विशेष अवसरमा बैंकले क्यासब्याक अफर समेत ल्याएको छ । आजदेखि आगामी ७ जनवरीसम्म यो कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत (अधिकतम ७५० रुपैयाँसम्म) क्यासब्याक प्राप्त हुनेछ । उक्त क्यासब्याक रकमले कार्डको सदस्यता शुल्क समायोजन गर्न सकिने बैंकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ १३:२३
