प्रतिनिधिसभा उम्मेदवारको आवेदन मोबाइल एपबाट लिँदै रास्वपा, शुल्क २५ हजार
मंसिर २१, २०८२ १४:२६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूका लागि आवेदन प्रक्रिया सुरु गरेको छ । पार्टीले उम्मेदवार बन्न इच्छुकहरूबाट आफ्नो आधिकारिक मोबाइल एपमार्फत आवेदन लिने व्यवस्था मिलाएको हो ।
पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन चाहने आकांक्षीले अनिवार्य रूपमा एपमार्फत फारम भर्नुपर्नेछ । यस प्रक्रियाका लागि आवेदन शुल्क २५ हजार रुपैयाँ तोकिएको रास्वपाले जनाएको छ।
योग्यता पुगेका तर आर्थिक अभावका कारण तोकिएको शुल्क तिर्न नसक्ने पार्टी सदस्यहरूका लागि भने वैकल्पिक व्यवस्था गरिएको छ । त्यस्ता आकांक्षीले आफ्नो आर्थिक अवस्था खुल्ने कागजातसहित पार्टीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा उपस्थित भई वा पार्टीको आधिकारिक ईमेल ([email protected]) मार्फत निवेदन पेस गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ १४:२६
