एक्सलाई २० अर्ब जरिवाना लगाएपछि ‘बकवास’ भन्दै मस्कले बन्द गरिदिए ईयूको अकाउन्ट
मंसिर २२, २०८२ १६:१०
काठमाडौँ । युरोपेली संघ (ईयू) ले एलन मस्कको सामाजिक सञ्जाल एक्समाथि भारी जरिवाना लगाएको छ । शुल्क तिरेकै भरमा एक्सले जोकोहीलाई ब्लु चेकमार्क दिएको र त्यसले गैरकानुनी तथा हानिकारक गतिविधि बढेको भन्दै ईयूले शुक्रबार कम्पनीमाथि डिजिटल सर्भिसेस एक्ट (डिजिटल सेवा ऐन) उल्लङ्घन गरेको भन्दै १२ करोड युरो जरिवाना लगाएको हो । यो रकम आजको विनिमय दर अनुसार करिब २० अर्ब १० करोड रुपैयाँ बढी हुन आउँछ ।
यससँगै एक्स यो नयाँ कानुन अन्तर्गत कारबाहीमा पर्ने पहिलो कम्पनी बनेको छ । ईयूले जरिवाना लगाउने घोषणा गरेपछि मस्कले ‘Bullshit’ (बकवास) लेख्दै आक्रोश व्यक्त गरेका छन् । तर, विवाद यतिमै रोकिएको छैन ।
जरिवानाको घोषणा भएको भोलिपल्टै एक्सका ‘हेड अफ प्रोडक्ट’ निकिता बियरले युरोपेली संघले आफ्नो पोस्टको रिच बढाउन प्लेटफर्मको कमजोरी दुरुपयोग गरेको गम्भीर आरोप लगाए । यसको जवाफमा एक्सले संघको विज्ञापन खाता (एड अकाउन्ट) नै बन्द गरिदिएको द भर्जले उल्लेख गरेको छ ।
बियरका अनुसार युरोपेली संघले सन् २०२१ देखि आफ्नो विज्ञापन खाता प्रयोग गरेको थिएन । तर, एक्समाथि जरिवाना लगाइएको घोषणा गर्न भने ईयूले विज्ञापनका लागि मात्र छुट्याइएको विशेष ‘पोस्ट फर्म्याट’ प्रयोग गरेको उनको दाबी छ । बियरले भने, “ईयूले प्रयोगकर्तालाई भिडिओ हो भनेर झुक्याउन र कृत्रिम रूपमा पोस्टको रिच बढाउन यस्तो हर्कत गरेको छ । ”
The irony of your announcement:
— Nikita Bier (@nikitabier) December 6, 2025
You logged into your dormant ad account to take advantage of an exploit in our Ad Composer — to post a link that deceives users into thinking it’s a video and to artificially increase its reach.
As you may be aware, X believes everyone should… https://t.co/ziuhUOimOT
ईयूको विज्ञापन खाता बन्द गर्ने एक्सको यो प्रतिशोधात्मक कदमले दुवै पक्षलाई खासै असर पार्ने देखिँदैन । बियरकै दाबी अनुसार संघले लामो समयदेखि विज्ञापन खाता प्रयोग नगरेकाले यसलाई रोक्दा एक्सलाई कुनै फाइदा पुग्ने देखिन्न ।
यद्यपि एक्सले युरोपेली संघको निर्णयविरुद्ध पुनरावेदन गर्न सक्ने भए पनि हालका लागि उक्त भारी जरिवाना तिर्नुपर्ने बाध्यता छ । साथै एक्सले आगामी ६० दिनभित्र ‘भेरिफाइड चेकमार्क’को भ्रामक प्रयोगलाई कसरी नियन्त्रण गर्ने भन्ने योजना पेश गर्नुपर्नेछ । यदि पेस गर्न नसकेको खण्डमा कम्पनीले थप कारबाहीको सामना गर्नुपर्ने हुनसक्छ ।
पछिल्लो अध्यावधिक: मंसिर २२, २०८२ १७:१०
