‘एनएमबि इन्स्टा बाइ’ सार्वजनिक, क्रेडिट कार्डको ५ हजार माथिको खर्चलाई किस्तामा बदल्न सकिने
मंसिर २२, २०८२ १८:५२
काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकका लागि क्रेडिट कार्ड सेवालाई थप सहज र प्रभावकारी बनाउँदै ‘एनएमबि इन्स्टा बाइ’ (NMB Insta Buy) सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत ग्राहकले पाँच हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दीमा रूपान्तरण गर्न सक्नेछन् ।
यो प्रक्रिया पूर्ण रूपमा डिजिटल माध्यममा आधारित रहेको बैंकले जनाएको छ । क्रेडिट कार्ड प्रयोगकर्ताले सामान वा सेवा खरिद गरेको १० दिनभित्र ‘ई-एनएमबि एप’ (eNMB App) वा बैंकको वेबसाइटमा रहेको ‘इन्स्टा बाइ पोर्टल’ मार्फत खरिदको बिल (Invoice) र पीओएस (POS) स्लिप अपलोड गरेर यो सुविधा लिन सक्नेछन् ।
यस योजनामा पारदर्शी शुल्क संरचना र प्रतिस्पर्धी ब्याजदर कायम गरिएको बैंकले उल्लेख गरेको छ । साथै, तोकिएको समयभन्दा अगावै कर्जा चुक्ता गर्न चाहेमा कुनै अतिरिक्त शुल्क (Prepayment Penalty) लाग्ने छैन ।
ग्राहकले बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई अनलाइनबाटै यो सुविधा लिन सक्ने भएकाले चिकित्सा, यात्रा, जीवनशैली तथा चाडपर्वसम्बन्धी खर्च व्यवस्थापन गर्न यो योजना उपयोगी हुने विश्वास बैंकले लिएको छ ।
हाल एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम र ९ ओटा एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २२, २०८२ १८:५३
