close

एमाले महाधिवेशनमा ‘जनसागर’ देखाउन महेश बस्नेतले प्रयोग गरे असम्बन्धित ड्रोन शट

टेकपाना टेकपाना

मंसिर २७, २०८२ १७:६

एमाले महाधिवेशनमा ‘जनसागर’ देखाउन महेश बस्नेतले प्रयोग गरे असम्बन्धित ड्रोन शट

काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा सुरु भएको पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा ‘जनसागर’ उर्लिएको देखाउन सामाजिक सञ्जालमा असम्बन्धित तस्बिर प्रयोग गरेका छन् । शनिबार दिउँसो बस्नेतले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर सम्पादित भएको पाइएको हो ।

उनले क्याप्सनमा लेखेका छन्, “नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह, भक्तपुर सल्लाघारीमा जनसागर उर्लिएको अनुशासित तथा भव्य विशाल सभा ।”

तर, उनले ‘जनसागर’ दाबी गर्दै राखेको ड्रोन शट भने शनिबारको कार्यक्रमस्थलसँग मेल खाँदैन ।

बस्नेतले राखेको तस्बिरमा ‘बचनराज जोशी’को वाटरमार्क देखिन्छ, जुन अहिलेको कार्यक्रमको नभएको तथ्य जाँचबाट पुष्टि भएको छ ।

यसरी पुष्टि भयो नक्कली

नेपाल फोटो लाइब्रेरी, अनलाइनखबर, सेतोपाटी लगायतका माध्यमले शनिबारको कार्यक्रमस्थलको वास्तविक ड्रोन भिडिओ तथा तस्बिर सार्वजनिक गरेका छन् । वास्तविक दृश्य र महेश बस्नेतले शेयर गरेको तस्बिर तुलना गर्दा निम्न असमानताहरू देखिएका छन्:

१) स्टेज र कार्पेट: शनिबारको वास्तविक कार्यक्रममा स्टेज अगाडि हरियो कार्पेट बिछ्याइएको प्रस्ट देखिन्छ । तर, बस्नेतले शेयर गरेको तस्बिरमा कतै पनि हरियो कार्पेट देखिँदैन ।

२) मञ्चको बनावट: वास्तविक कार्यक्रमस्थलमा मञ्चलाई माथिबाट छोपिएको (प्रस्ट रूपमा देखिने सेड/त्रिपाल) छ भने दुई ओटा मञ्चको बीचमा मन्दिर रहेको छ । तर, बस्नेतको तस्बिरमा न त मञ्च स्पष्ट देखिन्छ, न त मन्दिर नै छ ।

३) घर र परिवेश: बस्नेतले हालेको फोटो र वास्तविक कार्यक्रमस्थल वरपरका घरहरूको अवस्थितिमा समेत मेल खाँदैन ।

विभिन्न एआई टुलमा तस्बिर राख्दा अधिकांशले खिचिएकै देखाएका छन् । यद्यपि महेश बस्नेतले राखेको यो फोटो शनिबारको कार्यक्रमसँग मेल नखाने विभिन्न तथ्यले पुष्टि गरेका छन् । 

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८२ १७:२२