एमाले महाधिवेशनमा भिड ठुलो देखाउन नेता महेश बस्नेतले प्रयोग गरे जेमिनाईले बनाएको फोटो
मंसिर २७, २०८२ १९:१७
काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टीको राष्ट्रिय महाधिवेशनमा उपस्थित जनसहभागितालाई विशाल देखाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको पाइएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उद्घाटन सत्रको तस्बिरमा गुगलको एआई टुल ‘जेमिनाई’ प्रयोग गरी कृत्रिम भिड थपेको तथ्य बाहिर आएको हो ।
नेता बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका तस्बिरहरूमध्ये एउटामा जेमिनाईको वाटरमार्क प्रस्ट रूपमा देखिएको छ । उनले सामाजिक सञ्जालमा चार ओटा तस्बिर साझा गर्दै “एमालेको उद्घाटन सभामा यो उपस्थिति जनसागरको एउटा थोपा मात्रै हो” भन्ने क्याप्सन लेखेका थिए । तर, जनसागर दाबी गरिएको उक्त तस्बिरमा एआईको प्रयोग गरी मानिसहरूको सङ्ख्या थप्न खोजिएको पाइएको छ ।
सार्वजनिक भएको उक्त सम्पादित तस्बिरमा एआईको प्रयोगका कारण मञ्च र आसपासको भौतिक संरचना बाङ्गोटिङ्गो र अस्वाभाविक देखिन्छ । साथै, थपिएका मानिसहरूको आकृति समेत स्पष्ट र स्वाभाविक छैन । वास्तविक फोटोमा ‘प्रम्प्ट’ दिएर भिड बढाउन खोज्दा एआईले तस्बिरलाई अस्वाभाविक बनाइदिएको हो ।
सामाजिक सञ्जालमा भिड ठूलो देखाउने होडमा जिम्मेवार नेताले नै एआई निर्मित तस्बिरलाई वास्तविक भन्दै प्रचार गरेपछि यसको आलोचना सुरु भएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २७, २०८२ २०:१०
