आईफोनमा नयाँ अपडेट: लिक्विड ग्लास आफ्नै रोजाइमा, एयरड्रप कोडदेखि अफलाइन लिरिक्ससम्मका सुविधा
मंसिर २८, २०८२ १४:७
काठमाडौँ । एप्पलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण आईओएस २६.२ अपडेट सार्वजनिक गरेको छ । गत सेप्टेम्बरमा मुख्य सफ्टवेयर सार्वजनिक भएपछि एप्पलले अहिले ल्याएको यो अर्को ठुलो अपडेट हो ।
पछिल्ला केही सातादेखि एप्पलले डेभलपर र पब्लिक बेटा भर्सनमा यो अपडेटको परीक्षण गरिरहेको थियो । अन्ततः शुक्रबार एप्पलले सर्वसाधारणका लागि आईओएस २६.२ अपडेट सार्वजनिक गरेको हो । अपडेटमार्फत आईफोनमा नयाँ र उपयोगी फिचरहरू थपिएको एप्पलले जनाएको छ ।
लक स्क्रिनको युजर इन्टरफेसलाई कस्टमाइज गर्न मिल्ने सुविधा थपिएको छ । साथै, एप्पल म्युजिकमा ‘सिङ’ (Sing) फिचर वा लिरिक्ससहितको सुविधा पनि ल्याइएको छ ।
अपडेट कसरी इन्स्टल गर्ने ?
यो अपडेट आईओएस २६ चल्ने सबै आईफोन मोडेलहरूमा उपलब्ध हुनेछ । बेटा भर्सन प्रयोग गरिरहेका तथा सामान्य प्रयोगकर्ता दुवैले यसलाई इन्स्टल गर्न सक्नेछन् ।
१. आईफोनको Settings एपमा जानुहोस् ।
२. त्यहाँ General भित्र रहेको Software Update मा क्लिक गर्नुहोस् ।
३. त्यसपछि आईफोनले नयाँ अपडेट खोजी गर्नेछ । अपडेट उपलब्ध भएपछि त्यहाँ देखिनेछ ।
४. अब Download and Install मा थिच्नुहोस् र देखिने शर्तहरू (Terms) पढेर स्वीकार गर्नुहोस् ।
५. अपडेट इन्स्टल हुन केही समय लाग्नेछ । यस क्रममा तपाईंको आईफोन केही पटक रिस्टार्ट (रिबुट) हुन सक्छ ।
आईओएस २६.२ मा के छ नयाँ ?
आईओएस २६.२ अपडेटले विशेषगरी एप्पल म्युजिक एपमा ठुला परिवर्तन ल्याएको छ । यसअन्तर्गतको एक फिचर हो- अफलाइन लिरिक्स । आईफोन प्रयोगकर्ताहरूले अब गीतको लिरिक्स (शब्द) हेर्दै साथमा गाउन मिल्ने (Apple Music Sing) फिचर पाउनेछन् ।
यसका साथै लिक्विड ग्लास डिजाइनमा कस्टमाइजेसनको सुविधा थपिएको छ । यसको मद्दतले लक स्क्रिनमा रहेका विजेटहरू र होम स्क्रिनको सेटिङ परिवर्तन गर्न सकिनेछ । लक स्क्रिनको घडी र अन्य लिक्विड ग्लास एलिमेन्टहरूको पारदर्शिता (Transparency) नियन्त्रण गर्ने सुविधा दिएको छ । यसअघि धेरै पारदर्शी हुँदा अक्षरहरू पढ्न गाह्रो भएको प्रयोगकर्ताहरूको गुनासो थियो । अब प्रयोगकर्ताले यसलाई आफ्नो रुचि अनुसारको लुक्स दिन सक्नेछन् ।
अपडेटमार्फत एप्पलले बाढीलगायतका प्राकृतिक विपत्ति र अन्य आपत्कालीन अवस्थामा प्रयोगकर्तालाई सूचित गराउने ‘सेफ्टी अलर्ट’ फिचरलाई थप सुधार गरेको छ ।
यो अपडेटले ‘रिमाइन्डर’ र ‘मेसेज’ एपमा पनि सुधार गरेको छ । त्यस्तै अपरिचित व्यक्तिसँग फाइल शेयर गर्न एयरड्रप कोड फिचर ल्याइएको छ । यसले गर्दा कन्ट्याक्ट लिस्टमा नभएका व्यक्तिलाई ३० दिनका लागि सुरक्षित रूपमा फाइल पठाउन सकिनेछ । त्यस्तै ‘Everyone’ विकल्प छान्दा १० मिनेटपछि आफैँ ‘Contacts Only’ मा परिवर्तन हुनेछ, जसले गर्दा अपरिचित व्यक्तिबाट आउने अनावश्यक फाइलहरू रोक्न मद्दत पुग्नेछ ।
एप्पलले पडकास्ट, गेम्स र फ्रीफर्म (Freeform) जस्ता एपहरूमा पनि यो अपडेटमार्फत नयाँ फिचरहरू उपलब्ध गराएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २८, २०८२ १४:२०
