close

आकस्मिक लाइसेन्स छपाइमा ढिलासुस्ती, हप्ता दिनसम्म नआउँदा वैदेशिक रोजगारीमा जानेहरू मर्कामा

टेकपाना टेकपाना

मंसिर २८, २०८२ १८:४०

आकस्मिक लाइसेन्स छपाइमा ढिलासुस्ती, हप्ता दिनसम्म नआउँदा वैदेशिक रोजगारीमा जानेहरू मर्कामा

काठमाडौँ । यातायात व्यवस्था विभागले सुरक्षण मुद्रण केन्द्रमार्फत आकस्मिक लाइसेन्स छपाइ सुरु गरेको एक महिना बितिसक्दा पनि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिकहरू लाइसेन्स छपाइमा भइरहेको ढिलासुस्तीका कारण प्रत्यक्ष मारमा परेका छन् ।

विभागले एक महिनाअघि रोकिएको छपाइ कार्य पुनः सुचारु गरे पनि प्रक्रियागत झन्झटका कारण सेवाग्राहीले हप्ता दिनसम्म पनि लाइसेन्स पाउन सकेका छैनन् । यसअघि विभागबाटै छपाइ हुँदा केही घण्टामै उपलब्ध हुने लाइसेन्स अहिले सुरक्षण मुद्रण केन्द्रबाट छापिँदा हप्तौँ कुर्नुपर्ने बाध्यता सिर्जना भएको हो ।

वैदेशिक रोजगारीका लागि कतार जान लागेका एक सेवाग्राहीले लाइसेन्स समयमै नपाउँदा दुई पटकसम्म हवाई टिकट रद्द गर्नुपरेको गुनासो गरे । उनले भने, “काम गर्न जान लागेको ठाउँमा ड्राइभिङ लाइसेन्स अनिवार्य छ । १० दिनअघि आवेदन दिएँ, तर अझै आएको छैन । म्यानपावर कम्पनीले अब पनि लाइसेन्स नलिई आए टिकट नकाट्ने चेतावनी दिइसक्यो ।”

टाढाबाट काठमाडौँ आएर होटलमा बसिरहेका सेवाग्राहीहरू विभागले ‘भोलि/पर्सि आउँछ’ भन्दै फर्काउने गरेको बताउँछन् । कतिपय सेवाग्राही त विदेश जाने दिनसम्म पनि लाइसेन्स नपाएपछि आफन्तलाई मञ्जुरीनामा दिएर विदेश उड्न बाध्य भएका छन् ।

जेनजी आन्दोलनका क्रममा विभागको लाइसेन्स छाप्ने प्रणालीमा क्षति पुगेपछि हाल सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ भइरहेको छ । “विगतमा हामीले ८ घण्टामै लाइसेन्स दिन्थ्यौँ, तर अहिले अर्को निकायबाट छाप्नुपर्दा डेटा ट्रान्सफर र व्यवस्थापनमा समय लागिरहेको छ,” यातायात व्यवस्था विभागका महानिर्देशक केशवराज खतिवडाले भने ।

हाल विभागमा दैनिक २०० देखि ३०० ओटा आकस्मिक लाइसेन्सको आवेदन पर्ने गरेको छ । तर, मुद्रण केन्द्रको ठुलो मसिनमा थोरै कार्ड छाप्दा कच्चा पदार्थ (मटेरियल) खेर जाने भएकाले केही दिनको आवेदन जम्मा गरेर एकमुष्ट छाप्ने गरिएको छ ।

निर्देशक खतिवडाका अनुसार विभागले हरेक तीन दिनमा डेटा मुद्रण केन्द्रलाई पठाउँछ भने केन्द्रले छापेर पठाउन थप तीन-चार दिन लगाउँछ । यसले गर्दा सेवाग्राहीको हातमा लाइसेन्स पर्न एक साताभन्दा बढी समय लाग्ने गरेको हो ।

गत २१ कात्तिकदेखि सुरु भएको छपाइअन्तर्गत आइतबार (२८ मङ्सिर) सम्ममा पाँच हजार ५५६ ओटा लाइसेन्स छापिएका छन् भने एक हजार २६८ ओटा छाप्न बाँकी छ । विभागले छापिएका लाइसेन्सको विवरण ‘हेल्लो यातायात’ फेसबुक पेजमार्फत सार्वजनिक गर्दै आएको छ ।

यो समस्या समाधानका लागि विभाग र मुद्रण केन्द्रबिच स्वचालित डेटा ट्रान्सफर प्रणालीको विकास भइरहेको छ, जसका लागि अझै एक महिना लाग्ने खतिवडाले जानकारी दिए ।

लाइसेन्स नपाउँदै म्याद सकिने जोखिम

विभागसँग हाल सन् २०२२ मे देखिका २५ लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी (ब्याकलग) छ । पुराना कतिपय लाइसेन्सको म्याद सन् २०२६ मा सकिँदै छ । दैनिक औसत एक हजार २०० लाइसेन्सको म्याद सकिने गरेको तथ्याङ्क विभागसँग छ ।

यस्तो अवस्थामा सेवाग्राहीको हातमा म्याद सकिएको कार्ड नपुगोस् भनेर विभागले रिभर्स अर्डर (पछिल्लो समय आएका आवेदन पहिले छाप्ने) नीति लिएको छ । सुरक्षण मुद्रण केन्द्रसँग भएको १२ लाख कार्ड छपाइ सम्झौताअनुसार अब सन् २०२५ र २०२४ का आवेदनलाई प्राथमिकता दिएर क्रमशः पुराना लाइसेन्स छाप्ने योजना विभागले बनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८२ १९:१३