वन विज्ञान अध्ययन संस्थान हेटौँडामा पुनः ‘हल्ट प्राइज’ प्रतियोगिता हुने
मंसिर २९, २०८२ १६:५७
हेटौँडा । करिब पाँच वर्षपछि हेटौँडामा पुनः ‘हल्ट प्राइज’ प्रतियोगिताको आयोजना हुने भएको छ । वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पस (इन्स्टिच्युट अफ फरेस्ट्री, हेटौँडा) मा तीन क्याम्पसले संयुक्त सहभागिता जनाउँदै यस वर्षको ‘अनक्याम्पस प्रतियोगिता’ आयोजना गर्न लागिएको हो ।
हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थान, वन विज्ञान संकाय तथा काठमाडौँ फरेस्ट्री कलेजका विद्यार्थीहरू वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसको एउटै कार्यक्रम स्थलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता माघको अन्तिम साता वा फागुनको पहिलो सातामा हुने ग्रान्ड फिनालेका लागि तयारी तीव्र रूपमा अघि बढाइरहेको क्याम्पस निर्देशक विनय तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार केही वर्षयता अवरुद्ध प्रतियोगितालाई पुनः निरन्तरता दिन क्याम्पस उत्साहित छ । “हल्ट प्राइजले विद्यार्थीको उद्यमशीलता, नवप्रवर्तन र सामाजिक समस्या समाधान गर्ने क्षमतामा महत्वपूर्ण योगदान पुर्याइरहेको छ,” निर्देशक तिमिल्सिनाले भने ।
प्रतियोगिताबारे सहायक क्याम्पस निर्देशक सुस्मिता मुक्तानले पनि उत्साह व्यक्त गर्दै क्याम्पसमा विद्यार्थीहरूको चासो तथा सहभागिता निकै उच्च रहेको बताइन् । “उनीहरूमा नयाँ सोच र सामाजिक प्रभाव पार्ने योजनाहरू ल्याउने प्रेरणा बढेको पाइन्छ,” उनले भनिन् । उनका अनुसार ‘हल्ट प्राइज’ हरेक वर्ष आयोजना गरिने अन्तर्राष्ट्रिय प्रतियोगिता हो, जसका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाउँछन् ।
गत वर्षसम्म यो कार्यक्रम मुख्यतः क्षेत्रीय रूपमा सीमित रहेकामा अब राष्ट्रिय स्तरमा विस्तार भइसकेको छ । काठमाडौँमा सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा देशभरका अनक्याम्पस विजेता टोलीहरूले सहभागिता जनाएका थिए । सोअघि वन विज्ञान अध्ययन संस्थान पोखरा र हेटौँडाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए । हेटौँडाबाट मात्र ३ विशेष समूहले प्रतिस्पर्धा गरेका थिए ।
यस वर्षको संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन १९ सदस्यीय आयोजन समिति गठन गरिएको छ । “विद्यार्थीको क्षमता विकासका लागि यो प्रतियोगिता अत्यन्तै फलदायी साबित हुँदै आएको छ । यस वर्ष हामीले अझ बृहत्तर र प्रभावशाली कार्यक्रम गर्ने लक्ष्य राखेका छौँ,” निर्देशक तिमिल्सिनाले भने ।
पछिल्लो अध्यावधिक: मंसिर २९, २०८२ १६:५७
