सोसल मिडिया इन्फ्लुएन्सरले सेलिब्रेटी गर्लफ्रेन्ड नपाएको झोकमा देश जलाएः रामकुमारी झाँक्री
पुस १, २०८२ १५:१४
काठमाडौँ । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले जेन-जी आन्दोलनलाई गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डबिचको झगडाको रूपमा अवमूल्यन गरेकी छिन् । आइतबार एक युट्युब च्यानलसँग कुराकानी गर्दै उनले यस किसिमको हल्का अभिव्यक्ति दिएकी हुन् ।
ती युट्युबरले तत्कालीन केपी शर्मा ओलीकै नेतृत्वको सरकार छँदा युवाहरूले भ्रष्टाचारको विरोध गर्दै सुशासनको विषयसहित जेनजी- आन्दोलन उठान भएको प्रसङ्ग निकालेका थिए । जवाफमा रामकुमारी झाँक्रीले भनिन्, "यो एउटा सोसल मिडिया इन्फ्लुएन्सरले आफ्नो भूतपूर्व गर्लफ्रेन्डलाई डिफेम गर्नलाई, उनले दिएका कन्टेन्टहरूका पछाडि लाग्ने तपाईँहरू, गलत युवाहरू हो । कोही एक जना मान्छे... गर्लफ्रेन्ड र बोइफ्रेन्डका इस्युलाई ल्याएर देश जलाएनौ ? कसैको घर जलाएनौ ?"
"मलाई भन्नु भको ?," भन्ने युुट्युबरको प्रति प्रश्नमा झाँक्रीले थपिन्, "तपाईँ (पनि) त्यस्तै हो । अनि केपी... ओलीको कुरा गर्ने ? कुनै एक जना सेलिब्रेटी गर्लफ्रेन्डलाई अर्को सेलिब्रेटी सोसल मिडिया इन्फ्लुएन्सरले नपाएको झोकमा आएर आगो लाको होइन ? अनि तपाईँहरू त्यसैका प्रचार गर्ने मान्छे होइन जेन-जीहरू ? त्यस्तो प्रचार गर्न हुन्छ ?"
उनले केपी ओलीको विरोध पनि त्यही स्तरको भएको जिकिर गरेकी छिन् । "तर त्यस्तो गलत विरोध नगर्नुस् । हेर्नुस्, रोजगारी सिर्जना गर्ने भन्ने कुरा, तपाईँहरू कुन चाहिँ मान्छे त्यो रोजगारीको बजारमा गाछ ? सबै भाटभटेनी लुट्न जाने मान्छेहरू, काम नगर्ने मान्छेहरू, ठगहरू रछन् भन्ने देखिएन ?," उनले भनेकी छिन् ।
पछिल्लो अध्यावधिक: पुस १, २०८२ १५:३२
