मतदान गराउन केपी र ईश्वरका ४ आईटी विज्ञ खटिए, कति छ भोटिङ मसिन नै ह्याक हुने सम्भावना ?
पुस २, २०८२ १४:१४
काठमाडौँ । काठमाडौँमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा विद्युतीय मतदान भइरहेको छ । एमालेले नेपालमै उत्पादन भएको विद्युतीय भोटिङ मसिनबाट केन्द्रीय पदाधिकारी सहितको नेतृत्व चयन गर्दैछ ।
तर, कतिपयलाई विद्युतीय मतदान भइरहेकाले मतदान प्रक्रियामा छेडखानी हुने हो कि, ह्याक हुने हो कि भन्ने संशय पनि छ । राम-लक्ष्मण ग्रुप अन्तर्गतको ब्यालट सोलुसन प्रालिसँग सम्झौता गरेर एमालेले महाधिवेशनमा विद्युतीय मसिनबाट मतदान गराइरहेको छ ।
कम्पनीका निर्देशक रामप्रसाद रिमालले बजारमा चलिरहेको गलत हल्लाबारे आफू पनि जानकार रहेको बताए । ती सबै हल्ला निराधार भएको उनको भनाइ छ । एमाले महाधिवेशनमा विद्युतीय मतदानलाई सुरक्षित साथ सम्पन्न गराउन विभिन्न उपाय र विकल्प कार्यान्वयन गरिएको उनले जानकारी दिए ।
महाधिवेशन स्थलमा प्रयोग भइरहेका विद्युतीय भोटिङ मसिनबाट मतदान गराउँदा त्यसको मूल्याङ्कन तथा सञ्चालनका लागि अध्यक्षका दुई प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले दुई/दुई जना सूचना प्रविधि (आईटी) विज्ञ प्रतिनिधिका रूपमा खटाएका छन् ।
“निर्वाचनलाई निष्पक्ष बनाउन र स्वीकार्यता बढाउन अध्यक्षका दुवै प्रत्याशीहरूले हामीसँगै रहने गरी दुई/दुई जना गरेर चार जना आईटी विज्ञ तोक्नु भएको छ । उहाँहरूले हामीसँगै मिलेर काम गरिरहनु भएको छ," रिमालले टेकपानासँग भने ।
हरेक उम्मेदवारका लागि फरक-फरक आईडी दिइएकाले चाहेको खण्डमा प्राविधिकले पढ्न सक्ने गरी मतदानको सोर्स कोर्ड मसिनले जेनेरेट गर्छ । त्यसलाई हेर्न ‘पास की’ आवश्यक पर्छ । मसिन निर्माताले चाहेको खण्डमा उम्मेदवारका आधिकारिक प्रतिनिधिलाई उक्त पास कीमार्फत सोर्स कोड उपलब्ध गराउन सक्छ ।
“त्यो सोर्स कोड चाहेमा प्राविधिकले पढ्न सक्छन् । त्यसलाई हामी देखाउन सक्छौँ । जसका कारण मतदाताले हालेको भोट प्रमाणीकरण गर्न सकिन्छ । कसले भोट हाल्यो भनेर मसिन आफैँले सोर्स कोड जेनेरेट गर्ने भएकाले तेस्रो पक्षले मतदान गर्ने सम्भावना नै छैन,” रिमालले भने ।
एमालेले यसअघि पनि राम-लक्ष्मण ग्रुपकै विद्युतीय भोटिङ मसिन प्रयोग गरिसकेकाले पार्टी पङ्क्तिमाझ स्वीकार्यता बढी भएको उनले जानकारी दिए । त्यसैगरी, मतदान स्थलमा राखिएका विद्युतीय भोटिङ मसिन बिना नेटवर्क चलिरहेकाले ह्याक हुने सम्भावना नरहेको रिमालको दाबी छ ।
“नेटवर्क भएको भए पो बाहिरबाट पहुँच पुग्न सक्थ्यो । कुनै पनि मसिन नेटवर्कसँग जोडिएका छैनन् । विद्युतीय भोटिङ मसिन त डिजिटल डिभाइस हुन्, जहाँ मतदानको डेटा भण्डारण हुन्छ । ठ्याक्कै क्यालकुलेटर जस्तै हो । त्यसैले ह्याक हुने सम्भावना छँदै छैन,” रिमालले टेकपानासँग भने ।
एमाले नेता तथा केही कार्यकर्ताहरूले मङ्गलबार प्रत्यक्ष रूपमा डेमो मतदान पनि गरेका थिए । उनीहरूले हालेको भोटलाई रुजु गरिएको थियो । यसो गर्दा परिणाम मिलेपछि मसिनप्रति झन् विश्वास बढेको रिमालले बताए ।
मतदान सकिएको दुईदेखि साढे दुई घण्टामा परिणाम आइसक्ने बताइएको छ । उम्मेदवारको सूची लामो भएकाले हाल एमाले महाधिवेशन प्रतिनिधिहरूलाई मतदान गर्न औसतमा ४५ मिनेट समय लागिरहेको छ ।
मतदान बिहान ८ बजेदेखि हुने भनिए पनि झण्डै डेढ घण्टा ढिला सुरु भएको थियो । राति १० बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने तयारी भए पनि त्यो मतदानको समयमा निर्भर रहने एमालेले जनाएको छ । निर्वाचन आयोगले सूचना जारी गर्दै अपरान्ह ५ बजेभित्र मतदान स्थलमा प्रवेश गर्न महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: पुस २, २०८२ १५:०
