नेपालका अधिकांश आईपीटिभी सेट-टप बक्स अनसर्टिफाइड, कुनैपनि बेला युट्युबको पहुँच रोकिन सक्ने
पुस ३, २०८२ १३:५५
एआई सिर्जित तस्बिर
काठमाडौँ । नेपालमा प्रयोग भइरहेका अधिकांश सेट-टप बक्सहरूमा युट्युबको पहुँच पूर्ण रूपमा बन्द हुन सक्ने जोखिम बढेको छ । गुगलले आफ्ना ओईएम (सक्कली उपकरण निर्माता) साझेदारहरूलाई यसअघि नै जारी गरेको सूचनालाई कडाइका साथ लागु गर्ने तयारी थालेसँगै यस्तो समस्या निम्तिने देखिएको हो ।
हाल नेपालमा आईपीटिभी सेवा प्रदायकले वितरण गर्ने अधिकांश सेट-टप बक्स अनसर्टिफाइड एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) अन्तर्गतका रहेका छन् । गुगलले उच्च गुणस्तर, नियमितता र सुरक्षित अनुभव सुनिश्चित गर्नको लागि भन्दै यस्ता डिभाइसमा युट्युबको पहुँच रोक्ने नीति लिएको हो ।
कम्पनीले यी अनसर्टिफाइड एओएसपी उपकरणहरूले आवश्यक प्राविधिक मापदण्ड पुरा नगरेको, प्रयोगकर्ता अनुभव कमजोर पार्ने र सुरक्षा जोखिम समेत निम्तिन सक्ने भन्दै युट्युब प्रयोगमा रोक लगाउनु परेको जनाएको छ ।
गुगलले आफ्ना एप्लिकेसन र सेवाहरू वितरण गर्न चाहने निर्माताहरूका लागि कडा मापदण्ड निर्धारण गरेको छ । जिमेल, म्याप्स, प्ले स्टोर र युट्युब जस्ता लोकप्रिय एपहरूलाई गुगल मोबाइल सर्भिसेस (जीएमएस) अन्तर्गत राखिएको छ ।
निर्माताहरूले जीएमएस लाइसेन्स प्राप्त गर्न कम्प्याटिबिलिटी टेस्ट सुइट (सीटीएस) पास गर्नुपर्छ र कम्प्याटिबिलिटी डेफिनिसन डकुमेन्ट (सीडीडी) मा उल्लिखित मापदण्ड पालना गर्नुपर्छ । प्रमाणीकरण प्रक्रिया पूरा नगर्ने वा यसलाई बेवास्ता गर्ने निर्माताहरूलाई रोक्नकै लागि गुगलले यस्तो कडा कदम चालेको हो ।
सेट-टप-बक्स, टिभी र गेम कन्सोल 'लिभिङ रुम डिभाइस' अन्तर्गत पर्दछन् । यी डिभाइसहरूमा युट्युब चलाउनका लागि एचटीएमएल-५ मा आधारित युट्युब लिभिङ रुम एप्लिकेसन आवश्यक पर्दछ । जसको लागि उपकरणले सबै मापदण्ड पूरा गरेको सुनिश्चित गर्न प्रमाणीकरण अनिवार्य हुन्छ ।
नेपालका इन्टरनेट सेवाप्रदायक तथा धेरै टेलिभिजन वितरकहरूले बिक्री गर्दै आएका अधिकांश सेट-टप-बक्स तथा स्मार्ट टिभीहरू अनसर्टिफाइड एओएसपीमा आधारित छन् । युट्युबको यो नीति चरणबद्ध रूपमा कार्यान्वयन भइरहेको छ ।
अनसर्टिफाइड एओएसपी सेट-टप बक्समा केही प्रयोगकर्ताहरूले अहिले पनि युट्युब हेरिरहेका भए पनि विश्वव्यापी रूपमा यो प्रक्रिया लागु भएपछि त्यस्ता सबै उपकरणहरूमा युट्युब सेवा स्वतः बन्द हुने बताइएको छ ।
यसको अर्थ धेरै नेपाली घर-परिवारले अब बाध्य भएर गुगल-सर्टिफाइड एन्ड्रोइड टिभी ओएस भएका डिभाइस वा सर्टिफाइड स्मार्ट टिभीमा अपग्रेड गर्नुपर्ने अवस्था आउन सक्छ ।
पछिल्लो अध्यावधिक: पुस ३, २०८२ १५:३२
