काठमाडौँ । पायल गेमिङको नामले परिचित युट्युबर तथा पब्जी स्ट्रिमर पायल धारे हालैको एउटा भाइरल भिडियोका कारण चर्चामा छिन् । यद्यपि उनले उक्त भिडिओमा देखिएकी युवती आफू नभएको भन्दै स्पष्टीकरण दिएकी छन् ।
पायल भारतकी चर्चित गेमिङ क्रिएटरहरू मध्येकी एक हुन् । उनी आफ्ना आकर्षक गेमप्ले भिडिओ र लाइभ स्ट्रिमहरूका लागि परिचित छिन् । पायल धारेले सन् २०१९ मा आफ्नो युट्युब यात्रा सुरु गरेकी थिइन् । उनले सुरुमा बीजीएमआई (ब्याटलग्राउन्ड मोबाइल इन्डिया), पब्जी, जीटीए भी र क्रब गेम जस्ता लोकप्रिय गेमको गेमप्ले सामग्री पोस्ट गर्थिन् ।
उनको मिलनसार स्वभाव र अन्तरक्रियात्मक शैलीले उनलाई ठुलो फ्यान-बेस बनाउन सघायो । अगस्ट २०२१ सम्ममा उनको च्यानलले १० लाख सब्सक्राइबर पार गरिसकेको थियो र पछि उनी युट्युबमा ३० लाख सब्सक्राइबर पार गर्ने पहिलो भारतीय महिला गेमर बनिन् । हाल उनको युट्युबमा ४५ लाख सब्सक्राइबर छन् भने त्यत्तिकै सङ्ख्यामा उनका इन्स्टाग्राममा फलोअर पनि छन् ।
सन् २०२४ मा पायल मोबाइल स्ट्रिमर अफ दि इयर अवार्ड पाएपछि थप चर्चामा आएकी थिइन् । उनी यस्तो पहिचान हासिल गर्ने भारतका पहिलो महिला गेमरहरू मध्येकी एक हुन् ।
पायलले गत वर्ष केही अन्य भारतीय गेमरहरूसँग मिलेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग देशमा गेमिङको भविष्यबारे छलफलका लागि गएकी थिइन् । उनी छलफलमा सहभागी हुने एक मात्र महिला गेमर थिइन् ।
पायल मध्यप्रदेशको इन्दोरको छिन्दवाडा नामक एक सानो गाउँबाट आएकी हुन् । उनले १२ कक्षासम्म पढ्दा पनि आफूसँग व्यक्तिगत मोबाइल फोन नभएको बताएकी थिइन् र साथीका दाइहरूले साइबर क्याफेमा गेम खेलेको देखेर गेमिङको आधारभूत बुझाइ बटुलेको बताएकी थिइन् ।
विभिन्न भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरे अनुसार पायल धारे मासिक लगभग १० हजार अमेरिकी डलर जति कमाउँछिन् ।
अहिले किन भइन भाइरल ?
पायल गेमिङ हालै एउटा गोप्य भिडिओ इन्टरनेटमा भाइरल बनेपछि विवादको केन्द्रमा परेकी छिन् । एउटा भाइरल क्लिपमा देखिएकी युवती पायल गेमिङ भएको दाबी धेरैले गरेका छन् ।
यो भिडिओ भाइरल बनेपछि अनलाइन प्लेटफर्महरूमा प्रयोगकर्ताको सुरक्षाबारे चिन्ता बढेको छ । विवाद चर्किरहेकै बेला पायल धारेले आफ्नो इन्स्टाग्राम मार्फत स्पष्टीकरण दिएकी छिन् । अनलाइनमा प्रसारित भइरहेको भिडिओमा देखिएकी युवती आफू नभएको स्पष्ट पार्दै उनले उनको जीवन, पहिचान वा छनोटसँग उक्त भिडिओको कुनै सम्बन्ध नरहेको बताएकी छिन् ।
पायलले आफ्नो नाम र तस्बिरको दुरुपयोगलाई लिएर कानुनी कारबाही अगाडि बढाउन उपयुक्त कानुनी कदमहरू चालिरहेको जानकारी पनि दिएकी छन् । उनले सार्वजनिक कुनै पनि रूपमा उक्त सामग्री शेयर नगर्न वा अनुमान लगाउनबाट टाढा रहन आग्रह गरेकी छन् । उनले डिजिटल स्पेसमा कसैको प्रतिष्ठा रातारात हनन गर्ने कार्य निकै पीडादायी भएको बताएकी छन् ।
पछिल्लो अध्यावधिक: पुस ३, २०८२ १८:४२
