काठमाडौँ । ललितपुरका तीन सामुदायिक विद्यालयका विद्यार्थीहरूले आफूले तयार पारेका रोबोटिक्स तथा कोडिङ सम्बन्धी परियोजनाहरू प्रदर्शन गरेका छन् । गोदावरीस्थित किटिनी माध्यमिक विद्यालयमा शुक्रबार आयोजित ‘किटिनी लर्निङ एक्स्पो २०८२’ मा विद्यार्थीहरूले आफ्नो प्राविधिक कौशल प्रस्तुत गरेका हुन् ।
प्रदर्शनीमा किटिनी माध्यमिक विद्यालय, बज्रवाराही माध्यमिक विद्यालय र बुद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । रोटरी क्लब अफ यल: ललितपुरका सर्भिस डाइरेक्टर दिनेश श्रेष्ठका अनुसार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले तयार पारेका ४० ओटा रोबोटिक्स तथा कोडिङका सामग्रीहरू प्रदर्शनीको मुख्य आकर्षण बनेका थिए ।
रोबोटिक्सका अतिरिक्त विद्यार्थीहरूले भौतिकशास्त्र, रसायनशास्त्र, गणित, भाषा र परम्परागत प्रविधिसँग सम्बन्धित अन्य ३० ओटा परियोजनाहरू पनि प्रदर्शनमा राखेका थिए । प्रदर्शनीमा जम्मा ७० वटा परियोजना प्रस्तुत गरिएको थियो भने २०० जना विद्यार्थीले प्रत्यक्ष रूपमा आफ्नो प्रतिभा देखाएका थिए । उक्त मेलामा स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक गरी एक हजारभन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
रोटरी क्लब अफ यल:ले दुई तिहाइ आर्थिक सहयोग उपलब्ध गराएपछि किटिनी माविमा एक वर्षे इलेक्टिभ कोर्षका रूपमा कोडिङ र रोबोटिक्स शिक्षा सुरु गरिएको हो । हाल यस विद्यालयका ६० जना विद्यार्थीले यो विषय पढिरहेका छन् । यस्तै, बज्रवाराही र बुद्ध माविमा भने ‘बुटक्याम्प’ मार्फत विद्यार्थीहरूलाई यो प्रविधि सिकाइँदै आएको छ ।
प्रदर्शनीमा स्थानीय जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सर्भिस डाइरेक्टर श्रेष्ठले सामुदायिक विद्यालयमा रोबोटिक्स र कोडिङको आकर्षण बढ्दो भए पनि बजेट अभावका कारण सोचेजस्तो लगानी हुन नसकेको बताए । "स्थानीय तहबाट आवश्यक सहयोग र बजेट व्यवस्थापन हुन सके अन्य सामुदायिक विद्यालयका बालबालिकालाई पनि आधुनिक प्रविधिसँग जोड्न सकिन्छ," उनले भने ।
पछिल्लो अध्यावधिक: पुस ५, २०८२ ९:५७
